• ७ जेठ २०८१, सोमबार

गुरुङलाई सिर्जनशील कला पुरस्कार

blog

कलाकार ज्योति गुरुङलाई शनिबार आयोजित कार्यक्रममा पुरस्कृत गर्नुहुँदै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूय खड्का ‘बिखर्ची’, अग्रज कलाकार दुर्गा बराल ‘वात्स्यायन’ लगायत । तस्बिरः गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, असोज २ गते । युवा कलाकार ज्योति गुरुङ शनिबार पुरस्कृत हुनुभएको छ। गृहनगर पोखरामा उहाँको एकल चित्रकला प्रदर्शनीकै दिन सिर्जनशील कलाकार समूहले पुरस्कृत गरेको हो । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’, अग्रज कलाकार दुर्गा बराल ‘वात्स्यायन’ लगायतले पुरस्कार राशि नगद १५ हजार र सम्मानपत्रले उहाँलाई सिर्जनशील युवा कला पुरस्कार २०८० बाट सम्मानित गर्नुभएको हो। 

कलाकार विश्वरत्न शाक्यद्वारा स्थापित यो पुस्कार १९ औँ पटक प्रदान गरिएको हो । यो पुरस्कारबाट सम्मानित हुनेमा गुरुङ पहिलो महिला कलाकार हुनुहुन्छ । कलाकार गुरुङले आफ्नो जन्मभूमिमा पहिलो एकल कला प्रदर्शनीकै दिन सम्मानित हुने विरल अवसरले आफू उत्साहित भएको बताउनुभयो । “मैले परिवार र अग्रज कलाकारबाट कला सिकेँ, अझै सिक्दै छु । पुरस्कारले सिकाइलाई थप ऊर्जा दिएको छ,” उहाँले भन्नुभयो ।

देशमा एक दर्जनभन्दा बढी र विदेशमा आधा दर्जन कला प्रदर्शनी गरिसक्नुभएकी गुरुङको शनिबार भएको ‘स्टेप टु द नेचर’ शीर्षकको प्रदर्शनीमा दुई दर्जन चित्रकला प्रदर्शनिमा राखिएको छ। पानी रङ  प्रयोग गरी उहाँले पोखरा र आसपासको प्रकृति र मानव जीवनलाइ क्यान्भासमा उतार्नुभएको छ ।

कार्यक्रममा अग्रज कलाकार दुर्गा बराल ‘वात्स्यायन’ले सिर्जनशील कलाकार समूहको स्थापना र पोखरेली कलाकारको एकताबारे प्रकाश पार्नुभयो । प्रतिष्ठानका  कुलपति बिखर्चीले कलाको महत्व बुझाउन विद्यालय तहबाटै कला शिक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।