शालिग्राम नेपाल
चितवन, असोज २० गते । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता झलनाथ खनालले सरकार र राजनीतिक दलले आर्थिक विकासको योजना नल्याएसम्म समृद्धि सम्भव नहुने बताउनुभएको छ ।
चितवन उद्योग सङ्घले शनिबार बिहान भरतपुरमा आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहनुभएका खनालले राजनीतिक परिवर्तन भए पनि आर्थिक सुधार नभएकाले दलहरू गम्भीर हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले राणा, राजा फाल्यौ तर गरिबी फाल्न सकेनौँ ।’ अब कुरा मात्र होइन आर्थिक समृद्धिका लागि उद्योगको विकास आवश्यक रहेको उहाँले बताउनुभयो ।
उद्योगविना समृद्धि हासिल गर्न सकिँदैन उहाँले भन्नुभयो, ‘सरकार र राजनीतिक दलले नयाँ उद्योग स्थापनाको वातावरण निर्माण गर्नुपर्छ ।’ निजी क्षेत्रले औद्योगिक क्षेत्रमा गरेको काम सकारात्मक भए पनि सरकारले उद्योग स्थापनाका लागि ठुला लगानी भित्र्याउने वातावरण भने नबनाएको बताउनुभयो ।
कृषि, प्राकृतिक, खनिजलगायतले नेपाल धनी भए पनि यसलाई उपयोग गर्ने सामर्थ्य सरकारको नहुँदा गरिबी कायम भएको बताउनुभयो ।
महासचिव धनश्याम भुसालले देशलाई धनी बनाउने हो भने उद्योगको विकास गर्ने नीति ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले उद्योगको विकासका लागि राजनीतिक दल, सरकारलाई निरन्तर खबरदारी जारी राख्नुपर्ने बताउनुभयो । चितवन उद्योग सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले उद्योगको समस्या र राज्यले गर्नुपर्ने जिम्मेवारीको विषयमा जानकारी गराउनुभयो ।