गुणबहादुर रोका
सुलीकोट, असोज १९ गते । गोरखाका ११ वटै पालिकाले बालमैत्री स्थानीय तह बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । बिहीबार गोरखा सदरमुकाममा आयोजित बालबालिका ऐन २०७५ को कार्यान्वयनसम्बन्धी कार्याशाला गोष्ठीमा ऐन कार्यान्वयनका लागि नौ बुँदे साझा प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।
सबै स्थानीय तहमा बाल कल्याण अधिकारीसहित स्थानीय बालअधिकार समितिको ब्याबस्था गर्ने प्रतिबद्धता उहाँहरुले गर्नुभएको छ । बालबालिका घटनाको ब्याबस्थापन गर्न बाल मनोबिज्ञ र समाजसेबी सुचीकृत गर्ने बताएका छन् । बाल क्लबहरुको गठन र सञ्जालको ब्याबस्था गरी बाल सहभागितालाई परिवारदेखि स्थानीय तहसम्म ग्यारेन्टी गर्ने बिश्वास दिलाएका छन् ।
बालकोषको स्थापना र सञ्चालन गरिने पनि बताइएको छ । त्यस्तै, बालबालिकासम्बन्धी स्थानीय तहमा सुचना ब्याबस्थापनलाई प्रभाबकारी बनाइ भाषिक रुपमा बालबालिकाको स्थिति प्रतिबेदन प्रकाशन गरिने, बालअधिकार सुनिश्चितका लागि बालबालिकासँग सरोकार राख्ने सम्बद्ध पक्षहरुसँग आपसी समन्वय सहकार्य र साझेदारितामा गर्ने उहाँहरुले प्रतिबद्धता जनाउनुभयो ।
प्रतिबद्धता कार्यान्वयन भए नभएको अनुगमन जिल्ला समन्वय समितिले गर्ने भनिएको छ । सामाजिक बिकास कार्यालय र राष्ट्रिय बालअधिकार परिषदले भने सहजीकरण गर्ने बताइएको छ । राष्ट्रिय बालअधिकार परिषदको आयोजना र जिल्ला समन्वय समिति गोरखाको समन्वयमा भएको कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, बालकल्याण अधिकारी, सामाजिक बिकास कार्यालयका प्रमुख दिपेनद्र परियार लगायतको सहभागिता रहेको थियो ।