• ११ मंसिर २०८१, मङ्गलबार

डोजरको ठक्करले बालकको मृत्यु

blog

राजु लामिछाने

रुकुमपश्चिम, असोज १९ गते । रुकुम पश्चिममा डोजर (स्काभेटर) को ठक्करबाट घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको सानीभेरी गाउँपालिका –१० का भरत खड्काका ६ वर्षीय छोरा चन्द्रलाल खड्काको मृत्यु भएको हो ।  

सोही ठाउँको घन्ठाना निवासी खड्कालाई शुक्रबार दिउँसो बिद्यालयबाट घर फर्कनेक्रममा डोजरले ठक्कर दिएको थियो । उनी स्थानीय जनसेवा आधारभूत बिद्यालयमा कक्षा १ मा अध्ययनरत थिए । 

डोजरको ठक्करले गम्भीर घाइते भएका बालक खड्कालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको थियो । अवस्था गम्भीर भएपछि हेलिकोप्टरबाट बाहिर लैजाने तयारी हुँदैगर्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । 

बा ०१००३ क ९१३० नम्बरको डोजरले बालकलाई ठक्कर दिएको थियो । गाउँपालिकाको केन्द्र सिम्लीबाट अर्मातर्फ जाने भित्रिसडक मर्मत गरेर फर्कनेक्रममा बालकलाई डोजरले ठक्कर दिएको थियो । प्रहरीले डोजर चालक सानीभेरी गाउँपालिका वडा ७ निवासी २३ बर्षीय धनेशकुमार विक र डोजरलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।