• १५ मंसिर २०८१, शनिबार

प्रत्येक वडामा कार्यालय स्थापना गर्दै माओवादी

blog

पाथीभरा याङ्वरक गाउँपालिका –२ थेचम्बुमा स्थापना गरिएको माओवादीको वडा कार्यालय ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज १९ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ताप्लेजुङका प्रत्येक वडामा कार्यालय स्थापना गर्दैआएको छ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानका क्रममा माओवादीले प्रत्येक वडामा कार्यालय स्थापना गर्न लागेको हो ।

नौ स्थानीय तह रहेको जिल्लामा ६१ वडा रहेका छन् । हाल पार्टीले सञ्चालन गर्दैआएको रुपान्तरण अभियानसँगै वडामा वडा तथा सम्पर्क कार्यालय स्थापना गरिरहेको माओवादीका जिल्ला संयोजक विष्णुकुमार हाङ्बाङले जानकारी दिनुभयो । लिम्बूका अनुसार अधिकांश वडामा पार्टी स्थापना भइसकेका छन् ।

आगामी मङ्सिर १५ गतेसम्म सञ्चालन हुने पार्टीको तीन महिने अभियानको अवधिभित्र ६१ वटै वडामा कार्यालय स्थापना भइसक्ने उहाँले बताउनुभयो । पार्टीको नियमित कार्य सम्पादन तथा वडास्तरका कार्यकर्ता साथै शुभेच्छुक सर्वसाधारणसँगको सम्पर्कलाई जीवित राख्ने उद्देश्यस्वरुप पार्टी कार्यालय स्थापना गरिरहेको माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य सीता थेबेको नेतृत्वमा जिल्लामा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन भइरहेको पनि सो पार्टीले जनाएको छ । अभियानका क्रममा पार्टीका कमिटीहरु, भातृ तथा जनवर्गीय सङ्गठनको गठन–पुनर्गठन, भेला, बैठक, प्रशिक्षणजस्ता कार्यहरु भइरहेको माओवादीले जानकाकारी दिएको छ ।