• ११ असोज २०८१, शुक्रबार

जन्मदिनमा विद्यार्थीलाई पोसाक वितरण

blog

जन्मदिनको अवसरमा पोसाक वितरण गर्नुहुने वडाअध्यक्ष बालबालिकासँग । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज १९ गते । राप्तीसोनारी गाउँपालिका –२ का वडाध्यक्ष ज्ञानेन्द्रराज ओलीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा अध्ययनरत विपन्न बालबालिकालाई पोसाक वितरण गर्नुभएकोछ । 

राप्तीसोनारी –२ मा रहेको जयदुर्गा आधारभूत विद्यालयका ४० जना विपन्न विद्यार्थीलाई अध्यक्ष ओलीले पोसाक वितरण गर्नुभयो । लामो समयदेखि सामाजिक क्षेत्रमा रहेर काम गर्दै आउनुभएका वडाध्यक्ष ओलीले जन्मदिनको अवसर पारेर ४० जना विपन्न विद्यार्थीलाई विद्यालय पोसाक दिएको विद्यालयका प्रधानाध्यापक कालीबहादुर विष्टले जानकारी दिनुभयो ।

विद्यालय पोसाक किन्नसमेत गाह्रो पर्ने अभिभावक भएकाले सहयोग गरेकोमा ओलीलाई जन्मदिनको शुभकामना तथा धन्यवाद दिँदै प्रधानाध्यापक विष्टले यस्ता अवसरमा अन्य व्यक्तिले समेत सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

विद्यालयमा रहेका विपन्न, टुहुरा तथा असहाय बालबालिकालाई पठनपाठनमा सहयोग गर्ने उद्देश्यले पोसाक उपलब्ध गराएको वडाध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जन्मदिनको अवसरमा केही सकारात्मक काम गरौँ भन्ने मनमा लागेकाले विद्यार्थीलाई पोसाक सहयोग गरेको हुँ ।’

यसअघि पनि वडाध्यक्ष ओलीले आफ्नो व्यक्तिगत खर्चमा खेलकुद मैदान, मन्दिरलगायतका संरचना निर्माण गराइसक्नु भएको छ । उहाँले हरेक वर्ष आफ्नो जन्मदिन विभिन्न सामाजिक काम गरेर मनाउने गरेको बताउनुभयो ।