• १२ साउन २०८१, शनिबार

उपप्रधानमन्त्री खड्का र बेलायतका राजदूत फेनबिच भेट

blog

उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत रोब फेनबिच भेट ।

काठमाडौं, असोज १८ गते । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत रोब फेनले शिष्टाचार भेट गर्नुभएको छ ।

बिहीबार रक्षा मन्त्रालयमा भएको उक्त भेटमा नेपाल र बेलायतबिच सदियौँदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै द्विपक्षीय हितलाई थप प्रवर्द्धन गर्ने विषयमा छलफल भएको छ ।

उपप्रधानमन्त्री खड्काले राजदूतलाई स्वागत गर्नुहुँदै बेलायत र नेपालबिच सरकारी स्तरमा मात्र नभई जनस्तरमा समेत घनिष्ठ र सौहार्द्रपूर्ण सम्बन्ध रहेको चर्चा गर्नुभएको मन्त्रालयका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिनुभयो ।

मन्त्री खड्काले उहाँको नेपाल बसाइँको क्रममा दुई देशबिचको सम्बन्धलाई थप फराकिलो बनाउँदै नयाँ उचाइमा पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

संयुक्त अधिराज्य नेपालको एउटा पुरानो मित्र भएको र नेपालको आर्थिक सामाजिक विकासमा संयुक्त अधिराज्य सरकारले विगतदेखि नै सहयोग उपलब्ध गराउँदै आएकोमा धन्यवाद व्यक्त गर्नुहुँदै उपप्रधानमन्त्रीले दुई देशबिच सहयोगका क्षेत्रहरू आगामी दिनमा थप फराकिलो हुँदै जाने विचार व्यक्त गर्नुभयो ।

उहाँले सेवा निवृत्त ब्रिटिस गोर्खा सैनिकलाई समान पेन्सन लगायतका सुविधाहरू उपलब्ध गराउने सम्बन्धमा संयुक्त अधिराज्य सरकारबाट आवश्यक सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । भेटवार्ताका क्रममा जलवायु परिवर्तन, दुई देशका सेनाबिच सहयोग आदान–प्रदान लगायतका विषयमा समेत छलफल भएको थियो ।


यसैगरी, राजदूत फेनले दुई देशबिच मैत्रीपूर्ण सम्बन्ध कायम भएको सय वर्ष पूरा भएको र यसबिचमा दुई देशको सम्बन्धले नयाँ उचाइ लिएको विचार व्यक्त गर्नुभयो । नेपालले संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वशान्ति स्थापना कार्यमा पुर्‍याएको योगदान विशिष्ट रहेको कुरा उल्लेख गर्नुहुँदै उहाँले नेपालको आर्थिक, सामाजिक र मानवीय विकासमा सहयोग गर्न संयुक्त अधिराज्य सरकार सदैव तत्पर रहेको विचार व्यक्त गर्नुभयो । उहाँले आफ्नो कार्यकालको दौरान नेपाल र संयुक्त अधिराज्यबिचको द्विपक्षीय सम्बन्धलाई थप फलदायी र उपलब्धिमूलक बनाउन निरन्तर प्रयास गर्ने कुरा राख्नुभयो ।

शिष्टाचार भेटका अवसरमा रक्षा मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।