• १२ साउन २०८१, शनिबार

‘मुलुक विकासका निम्ति दलहरू एकै ठाउँमा उभिनुपर्छ’

blog

काठमाडौँ, असोज १८ गते । सांसदहरूले मुलुकको समृद्धिका निम्ति सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा सांसदहरूले नेताहरूले व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर मुलुक निर्माणमा लाग्नुपर्ने धारणा राख्नुभयो । 

“सबै दलहरू मिलेरै शान्ति प्रक्रियामा आएका हौँ, तर अहिले संविधान कार्यान्वयन, ऐन/कानुन बनाउने र देश विकासका विषयमा किन दलहरू एकै ठाउँमा उभिन सक्दैनन् ?”, सांसद जगप्रसाद शर्माले प्रश्न गर्नुभयो । मुलुकको आर्थिक विकासको निम्ति राजस्व वृद्धि गर्नुपर्ने बताउँदै सांसद शर्माले सरकारले महँगी र कालोबजारीको नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतालगायत प्राप्त उपलब्धिका विरुद्धमा षड्यन्त्रहरू भइरहेको भन्दै उहाँले त्यसमा सचेत हुनुपर्ने बताउनुभयो । 

उहाँले बाढी, पहिरो र भूकम्पमा परी बेपत्ता हुनेहरूको खोजी तथा क्षतिपूर्तिको निम्ति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद गोपाल भट्टराईले संविधान दिवसका अवसरमा सरकारले माफी दिन नहुनेलाई पनि आममाफी दिएको भन्दै आपत्ति जनाउनुभयो । सांसद भट्टराईले नेपालीहरूको महान् चाड दसैँ अगाडि उपभोग्य सामग्रीमा भएको महँगी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बाढी, पहिरो तथा भूकम्प पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न पनि माग गर्नुभयो । रासस