• ४ जेठ २०८१, शुक्रबार

सामूहिक पुष्प खेतीतर्फ किसानको आकर्षण बढ्दो

blog

व्यावसायिक रुपमा गरिएको फूलखेती । तस्वीर : मीना कंडेल

मीना कंडेल

कावासोती, असोज १८ गते । पूर्वी नवलपरासीमा सामूहिक पुष्प खेतीतर्फ किसानको आकर्षण बढ्न थालेको छ । नगदेबालीको रूपमा विकास गरी कम लगानीले धेरै आम्दानी लिन सकिने हुनाले जिल्लाका विभिन्न स्थानमा सामूहिक पुष्प खेती गर्न थालिएको हो । 

अहिले जिल्लाको गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकामा समूह गठनगरी सामूहिक पुष्प खेती गरिंदैआएको छ । 

गैँडाकोट वडा २ मा दिदीबहिनी कृषक समूहले सामूहिक पुष्प खेती गरेको छ । महिलाले २०७६ सालदेखि फूल खेती गर्दैआएको लक्ष्मी अधिकारीले बताउनुभयो । सुरुमा गैँडाकोट–२ धौलागिरि टोलमा ६ कठ्ठामा खेती गरिएको भए पनि यसलाई व्यावसायिक रूपमा अगाडि बढाउँदै १५ कठ्ठामा सामूहिक पुष्प खेती गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “व्यावसायिक पुष्प खेतीबाट राम्रो आम्दानी भएको छ । ४–५ समूह मिलेर सामूहिक पुष्पखेती गरेका छौँ । बर्सेनि फूलको माग बढ्दो रहेको छ । स्थानीयस्तरदेखि जिल्ला बाहिर समेत विक्री वितरण गर्ने गरेका छौँ । गत वर्ष खेती गर्न डेढ लाख खर्च भएको थियो भने पाँच लाख आम्दानी भयो ।”

अरू खेती गर्नुभन्दा पुष्प खेती सहज भएकाले पनि यसतर्फ आकर्षण बढ्न थालेको अधिकारीको भनाइ छ । त्यस्तै, गैँडाकोट –२ का सरिता कार्की पनि सामूहिक पुष्प खेतीबाट आफूलाई राम्रो भएको बताउनुभयो । 

दीपावलीमा मात्र नभएर पछिल्लो समय दैनिकरुपमा हुने औपचारिक कार्यक्रममा सयपत्री फूलको आकर्षण बढेकाले फूलको बजार राम्रो रहेको बताउनुभयो । दिदीबहिनी कृषक समूहले गरेको पुष्प खेतीमा कलकतिया, टेनिजवल प्रजातिका सयपत्री लगाएको उहाँको भनाइ छ ।

यता देवचुली नगरपालिका वडा–१२, को आर्थिक सहयोग तथा कृषि शाखाको प्राविधिक सहयोगमा सामूहिक पुष्पखेती गरिएको छ । वडाका दुई स्थानमा करिब १० कठ्ठामा लगाइएका फूलहरू फुल्न सुरु गरेका छन् । देवचुली १२ मा कर्मा ५५५, कर्मा १११ र कलकतिया प्रजातिका फूलहरू लगाइएको प्रगतिटोल पुष्प खेती समूहकी सीता रेग्मीले बताउनुभयो । 

कावासोती नगरपालिका-७ की मिश्रा पराजुलीले एक बिघा क्षेत्रफलमा तिहारलाई लक्षित गर्दै फर्मको १० कठ्ठामा यसपालि ८ हजार बोट सयपत्री लगाउनु भएको छ । फूल व्यवसायबाट राम्रो आम्दानी भएपछि पराजुलीले दुई वर्षदेखि स्थानीय बजारका मागलाई मध्यनजर गर्दै फूल उत्पादन गर्दै आउनु भएको छ ।

कृत्रिम मालामा प्रतिबन्ध लगाएपछि सामूहिक रूपमा पुष्प खेतीतर्फ स्थानीयहरू लागिपरेका छन् । जिल्लामा फूलमा आत्मनिर्भर बनाउन कृषि ज्ञान केन्द्र नवलपुरले पनि व्यावसायिक रूपमा गरिने पुष्प खेतीका लागि बिउ उपलब्ध गराउँदैआएको बाली संरक्षण अधिकृत मिरा चौधरीले बताउनुभयो । 

जिल्लाको कावासोती, देवचुली, गैँडाकोटलगायतका क्षेत्रमा लगाइएका फूल व्यवसायीको राम्रो आम्दानीको स्रोत भएको बताउँछन् ।