कपिल ज्ञवाली
सिद्धार्थनगर, असोज १७ गते । रुपन्देहीको लुम्बिनीमा खर्चिलो उपचारका रूपमा रहेको घुँडाको निःशुल्क प्रत्यारोपण गरिएको छ । बुद्धको पहिलो पाइला अन्तर्गत लुम्बिनी क्षेत्रका ३२ जना बिरामीको निःशुल्क घुँडा प्रत्यारोपण गरिएको हो ।
थाइल्यान्डका बौद्ध ध्यानगुरु धर्मगुरु र सिरीराज अस्पताल हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्राध्यापक डा. किरातीसि वानिचको पहलमा बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर घुँडा प्रत्यारोपण स्वास्थ्य शिविर गरिएको छ ।
सिद्धार्थ सिटिनगर हस्पिटल भैरहवासँग सहकार्य गरी थाइल्याण्डको सिरीराज हस्पिटलका प्रोफेसर डा. किराती सिको नेतृत्वमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले अत्याधुनिक प्रविधिमार्फत घुँडाको प्रत्यारोपण गर्नुभयो ।
निकै महँगो र खर्चिलो उपचारका रूपमा रहेको घुँडाको प्रत्यारोपण बुद्ध जन्मस्थल लुम्बिनी र यसआसपासका बिरामीलाई केन्द्रित गरी निःशुल्क रूपमा गरिएको छ । बुधबार एक कार्यक्रमबिच घुँडा प्रत्यारोपणमा खटिएका चिकित्सक र बिरामीको उत्साहका लागि आयोजित कार्यक्रममा नेपालमा आधुनिक प्रविधिमार्फत घुँडाका बिरामीलाई निःशुल्क उपचार गरेकोमा धन्यवाद दिइएको छ ।
बुद्धको जीवनको प्रमुख सन्देश नै मानव सेवा रहेकाले थाइल्यान्डका धर्मगुरु र चिकित्सकको पहलमा पहिलो पटक स्वास्थ्य शिविर गरिएको आयोजकहरूले बताएका छन् ।
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले थाइल्याण्डको चिकित्सकहरूको टोलीले लुम्बिनी क्षेत्रका स्थानीयको उपचार गरेर ठुलो योगदान दिएको बताउनुभयो । उहाँले बुद्धको उपदेश मानव सेवा नै भएकाले पवित्रस्थलमा घुँडाको प्रत्यारोपण गरेर थाइल्याण्डको चिकित्सक टोलीले पवित्र काम गरेको बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी क्षेत्रका आर्थिक रूपमा विपन्नलाई घुँडाको सफल प्रत्यारोपण गर्न पाएकोमा थाइल्यान्डका बौद्धध्यान गुरु भिक्षु सुधर्मले खुसी व्यक्त गर्नुभयो ।
नेपालमा स्वास्थ्य शिविर सञ्चालनका लागि भिक्षु फ्रा अनिल सुगन्धले समन्वय गर्नुभएको हो । उहाँले भगवान् बुद्धकै कारण थाइल्यान्डका सुधर्मगुरु र सिरीराज हस्पिटलका चिकित्सक प्रोफेसर किराँतीको अगुवाइमा स्वास्थ्य शिविर सम्पन्न सफल भएको बताउनुभयो ।
थाइल्यान्डका राजाको जन्मदिनको अवसर पारेर गत जुलाई २७ र ३० तारिखका दिन बुद्धजन्मस्थल लुम्बिनीमा घुँडा प्रत्यारोपणका लागि निःशुल्क रूपमा छनौट स्वास्थ्य शिविर गरिएको थियो । त्यतिखेर ७ सय ७ जनाको निःशुल्क परीक्षण गरिएको थियो । राजकीय थाई विहार लुम्बिनीको समन्वयमा शिविर आयोजना भएको थियो ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्धजन्मस्थल लुम्बिनीकै कारण यस्ता जटिलखालको रोगहरूको निःशुल्क उपचार सेवा स्थानीयहरूले पाएको बताउनुभयो ।
घुँडा प्रत्यारोपणका लागि वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ र शल्यक्रिया चिकित्सक १६ जना, १४ जना थोरापी र नर्स र अन्य सहयोगी टिम सहित ४५ जनाको टिम थाइल्यान्डबाट आएका थिए ।