• १५ मंसिर २०८१, शनिबार

भूमिहीन परिवारलाई जग्गाको निस्सा प्रदान

blog

माङ्सेबुङ गाउँपालिकामा जग्गाको निस्सा प्राप्त गरेपछि निस्सा देखाउँदै भूमिहीन परिवारका सदस्य । तस्विर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, असोज १७ गते । इलामको माङसेबुङ गाउँपालिकामा रहेका अव्यवस्थित तथा भूमिहीन परिवारलाई जग्गाको निस्सा प्रदान गरिएको छ । भूमि आयोगको कार्यक्रमअनुसार गाउँपालिकाले दुई हजार पाँचसय ८५ परिवारलाई जग्गाको निस्सा प्रदान गरेको हो ।

तोकिएको समयभित्र आयोगमा निवेदन दिएकामध्ये २४ भूमिहीन दलित, २२८ सुकुम्वासी र दुई हजार ३३३ अव्यवस्थित बसोबासी गर्ने परिवारलाई जग्गाको निस्सा दिइएको आयोगका जिल्ला अध्यक्ष भक्तबहादुर खत्रीले बताउनुभयो । 

निस्सा दिइएका परिवारले जग्गाको लालपुर्जा पाउन निश्चितजस्तै हुन्छ । ‘अब मालपोत कार्यालयले १५ दिने सूचना जारी गर्छ र जग्गा प्रदानको काम अघि बढाउँछ’ अध्यक्ष खत्रीले भन्नुभयो, ‘अन्य पालिकामा पनि भूमिहीनलाई जग्गा प्रदानको प्रक्रिया अन्तिम अवस्थामा पुगेको छ । तर, कर्मचारी अभावले जग्गाको नापजाँचका कामहरू रोकिएका छन् ।’ 

अध्यक्ष खत्रीका अनुसार रोङ गाउँपालिकामा जग्गा प्रदानका लागि तयारी पूरा भएको छ । यस्तै माई नगरपालिकाको वडा –४ मा पनि जग्गा प्रदान तयारी पूरा भएको छ । तर पर्याप्त कर्मचारी नहुँदा काममा ढिलाइ भएको बताइएको छ । यसअघि गत जेठ महिनामा चुलाचुली गाउँपालिकामा अधुरो रहेको आयोगको काम पूरा गर्दै ५१ परिवारलाई जग्गाको लालपुर्जा प्रदान गरिएको थियो