राधाकृष्ण डुम्रे
वालिङ, असोज १७ गते । अविरल वर्षासँगै आएको पहिरोका कारण स्याङ्जाको वालिङका पाँच परिवार विस्थापित भएका छन् । वालिङ नगरपालिका–८ मियालेटोलमा बस्दै आएका पाँच दलित परिवार विस्थापित भएका हुन् ।
स्थानीय हरि परियार, विवेक परियार र विक्रम परियारको घर पहिरोसँगै भत्कने अवस्थामा पुगेको छ । त्योभन्दा मुनी बस्दैआएका टिकामाया दर्जी र विष्णु दमिनीको घर पुरिने अवस्थामा रहेको वडा ८ का वडाध्यक्ष दामोदर तिवारीले जानकारी दिनुभयो ।
विस्थापित परिवारलाई नजिकैको अमिलाथुम प्राविको भवनमा राखिएको वालिङ नगरपालिकाले जनाएको छ । यस्तै, अविरल वर्षासँगै जिल्लाको जनजीवन प्रभावित भएको छ ।
ग्रामीण सडकहरू पूर्णरुपमा अवरुद्ध भएका छन् । पर्वत जोड्ने वालिङ–हुवास सडक खण्डको ठाउँ–ठाउँमा पहिरो जाँदा अस्तव्यस्त बनेको छ । पहिरोले बाटो अवरुद्ध भएपछि आवतजावतमा समस्या भएको स्थानीयको भनाइ छ ।