वराहक्षेत्र समाचारदाता
वराहक्षेत्र, असोज १५ गते । कृषि व्यवसायलाई थप टेवा पु-याउने उद्देश्यले वराहक्षेत्र नगरपालिकामा निर्माण भएकोे मिनी कोल्ड स्टोर (बाली विशेष भण्डार गृह) तीन वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।
तत्कालीन कृषि मन्त्रालय प्रदेश नम्बर १ र वराहक्षेत्र नगरपालिकाको साझेदारीमा निर्माण गरिएकोे मिनी कोल्ड स्टोर अझै सञ्चालनमा नआउँदा किसानले कृषि उपज राख्न पाएका छैनन् । कुल ५० लाख रुपियाँको लागतमा निर्माण भएको कोल्ड स्टोर सञ्चालनमा नआउँदा स्थानीय किसानले उत्पादन गरेको कृषि उपज कोल्ड स्टोरमा भण्डारण हुन सकेको छैन ।
कुल ७० मेट्रिक टन क्षमता भएको कोल्ड स्टोर निर्माणपश्चात् सात सय बोरा आलुको बिउ राखिएको थियो । तापव्रmम नमिल्दा कोल्ड स्टोरमा राखेको आलु सबै कुहिएपछि कृषि उपज राख्न छाडिएको थियो । भोल्टेजको समस्याका कारण कोल्ड स्टोरले काम नगर्दा आलु कुहिएको वराहक्षेत्र नगरका कृषि प्राविधिक नीरबहादुर राईले बताउनुभयो ।
वराहक्षेत्र नगरपालिका–६ मा रहेको मिनी कोल्ड स्टोर २०७८ सालमा निर्माण भएको थियो । २० मिटर चौडाइ र ३० मिटर लम्बाइ क्षेत्रफलमा निर्माण भएको कोल्ड स्टोर तीन वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । स्थानीय उमा निरौलाले भन्नुभयो, “किसानले एक पटक आलुको बिउ राख्न ल्याएका थिए । रोप्ने बेलामा बिउ आलु कुहिएर दुर्गन्ध थियो । त्यसपछि अहिलेसम्म पनि बनाउन कसैले चासो राखेका छैनन् ।”
तत्कालीन प्रदेश १ कृषि मन्त्रालयका सचिव मेघनाथ तिमल्सिनाको अगुवाइमा कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंह, कृषि मन्त्रालय विराटनगरका अधिकृत अभिमन्यु अधिकारीलगायतको टोलीले एक वर्षअघि कोल्ड स्टोरको अनुगमन तथा निरीक्षण गर्नुभएको थियो । कोल्ड स्टोरको दिगो सञ्चालनका लागि पटक पटक कोशी प्रदेश कृषि मन्त्रालय र नगरबिच छलफल पनि भएको थियो । थप व्यवस्थापन गरी सञ्चालनमा ल्याउने भनिए पनि हालसम्म कोल्ड स्टोर सञ्चालनमा आउन सकेको छैन । वराहक्षेत्र नगरपालिका–६ का वडाध्यक्ष उद्धव पोख्रेलले भन्नुभयो, “पहिला बनाउँदा पनि प्राविधिक त्रुटि भएकाले राम्ररी चल्न सकेन । पछिल्लो समयमा नगर कार्यपालिका बैठकमा कोल्ड स्टोरको विषयमा छलफल भएको छ ।”
वराहक्षेत्र नगरका आर्थिक विकास संयोजक तेजबहादुर गुरुङका अनुसार गत आर्थिक वर्षमा मिनी कोल्ड स्टोरको आवश्यक विद्युत् भोल्टेज र एसी जडान गर्नका लागि नगरबाट २० लाख रुपियाँ छुट्याइए पनि काम हुन नसक्दा कोल्ड स्टोर सञ्चालनमा आउन सकेको छैन । मिनी कोल्ड स्टोर निर्माण भएकै स्थानमा वराहक्षेत्र नगरले १६ शøयासहितको अस्पताल भवनको शिलान्यास गरी निर्माण सुरु गरेको छ ।