• २६ वैशाख २०८२, शुक्रबार

जनतासँग माओवादी विशेष रूपान्तरण अभियान

‘जनतासँगको सम्बन्ध सुधार गर्छौं’

blog

रुपन्देही समाचारदाता

रुपन्देही, असोज १५ गते  । नेकपा (माओवादी केन्द्र) ले देशैभर तीनमहिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सञ्चालन गरेको छ। भदौ १६ देखि लुम्बिनी प्रदेशमा पनि यो अभियान जारी छ । 

अभियानकै क्रममा पार्टीका स्थायी कमिटी सदस्य गणेशमान पुनले माओवादीले जनसम्बन्ध र सम्पर्क बढाउनकै लागि पार्टीले तीनमहिने विशेष रूपान्तरण अभियान चलाएको बताउनुभयो ।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत आइतबार बुटवलमा पार्टीले गरेको पत्रकार सम्मेलनमा नेता पुनले भन्नुभयो, “हामी माओवादी अलिकति बिग्रिएकै हौँ, त्यसैले जनसम्बन्ध सुधार गर्न अहिले जनताको घरदैलोमा पुगिरहेका छौँ, अब सम्बन्ध सुधार हुन्छ, कमी कमजोरीको समीक्षा गरिरहेका छौँ, आत्मालोचना पनि गरिरहेका छौँ।” 

पार्टी नेतृत्वले नै कमजोरी स्वीकार गरेर जनतासँग जाने निर्णय लिएको भन्दै नेता पुनले पार्टीलाई थप सशक्त बनाउन यस अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। समाजवादको बाटोमा अगाडि बढ्दा विधागत रूपमै बहस चलाउन पनि यो अभियानले सहज भएको चर्चा गर्दै उहाँले परिवर्तित समय अनुसार मजदुर, महिला, युवाका मुद्दा उठान गरिरहेको बताउनुभयो। 

अभियानका लागि रुपन्देही इन्चार्जको जिम्मेवारीसमेत पाउनुभएका नेता पुनले भदौ १६ देखि सुरु भएको रूपान्तरण अभियानले पार्टीका नेता तथा कार्यकर्तामा उत्साह जगाएको र जनताको राम्रो प्रतिक्रिया पाएको धारणा व्यक्त गर्नुभयो । 

कार्यक्रममा पार्टीका जिल्ला संयोजक निर्मल जिसीले रुपन्देहीमा अभियानले जनतामा निकै उत्साह देखाएको दाबी गर्नुभयो। 

स्वास्थ्य शिविर र जनश्रमदान 

यसैबिच अर्घाखाँची समाचारदाताका अनुसार माओवादी रूपान्तरण अभियान अन्तर्गत जनतासँग भेटघाटसँगै स्वास्थ्य शिविर तथा जनश्रमदानमा समेत जुटेको छ। मालारानी गाउँपालिकाबाट सुरु भएको स्वास्थ्य शिविर अर्घाखाँची जिल्लाका छ वटै स्थानीय तहमा सञ्चालन गर्ने गरी काम भइरहेको जिल्ला संयोजक राजेन्द्र भुसालले जानकारी दिनुभयो । स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकसहित निःशुल्क औषधीसमेत वितरण गरिएको छ। शिविरमा स्थानीय जनताको उत्साहपूर्ण सहभागिता रहँदै आएको छ। 

अभियानसँगै विपन्नका घरसमेत निर्माण भइरहेको माओवादी केन्द्रले जनाएको छ। मालारानी र छत्रदेव गाउँपालिकामा श्रमदानबाट चार वटा घर निर्माण गरेको जनाइएको छ। विपन्न घरपरिवार पहिचान गरी घर निर्माणलाई निरन्तरता दिने संयोजक भुसालले बताउनुभयो। 

नेपालगन्ज समाचारदाताका अनुसार नेकपा माओवादी केन्द्रले सुरु गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत बाँके जिल्लामा पनि विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । 

माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्रप्रसाद पाण्डेले दिनुभएको जानकारी अनुसार माओवादी रूपान्तरण अभियान अन्तर्गत अहिले पार्टी वडामा केन्द्रित भएको बताउनुभयो। उहाँले बाँके जिल्लाका ८१ वडामा एकै पटक दैनिकजसो विभिन्न जनवर्गीय सङ्गठन र पार्टीका भेला र बैठक भइरहेको बताउनुभयो। 

माओवादी केन्द्र बाँकेका सचिव डिल्ली बरालले कार्यकर्ता र जनतासम्म पुग्न वडामै जानुपर्ने भएकाले अहिले बाँकेमा रूपान्तरण अभियान वडा वडामा चलिरहेको बताउनुभयो। उहाँले वडाका गाउँ गाउँ र टोल टोलमा पुगेर जनतालाई माओवादीसँग जोड्ने कार्य चलिरहेको बताउनुभयो। 

रूपान्तरण अभियानका क्रममा जनप्रतिनिधि, जिल्ला कमिटीमा रहनुभएका सबैलाई प्रशिक्षण दिने तथा पालिकास्तरमा पनि प्रशिक्षणका कार्यक्रम सम्पन्न गरिएको नेकपा माओवादी केन्द्र बाँकेले जनाएको छ । माओवादीका नेता ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत बाँकेमा प्रशिक्षण दिएर फर्किनुभएको छ।  

रूपान्तरण अभियानका लागि बाँकेको इन्चार्ज लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलबहादुर केसीले रूपान्तरण अभियान बाँकेमा निकै उत्साहजनक तरिकाले चलिरहेको बताउँदै यो अभियान अहिले वडा वडा हुँदै टोल टोलमा पुगेको बताउनुभयो । 

अभियानको नेतृत्व गर्न माओवादी केन्द्रले बाँकेको कोहलपुरमा केन्द्रीय सदस्य दामा शर्मा, नेपालगन्जमा लुम्बिनीका पूर्वमुख्यमन्त्री कुलबहादुर केसी र जिल्ला संयोजक नरेन्द्र पाण्डे, बैजनाथमा केन्द्रीय सदस्य सन्तकुमार चौधरी, राप्तीसोनारीमा प्रदेश उपाध्यक्ष दुर्गा चौधरी र नरैनापुरमा सल्लाहकार ओमप्रकाश सुवेदी चन्द्रकान्तालगायतलाई खटाएको छ।

उत्साहित बन्दै कार्यकर्ता

तानसेन समाचारदाताका अनुसार माओवादी केन्द्रले थालेको जनतासँग विशेष रूपान्तरण अभियानले पार्टी पङ्क्ति र कार्यकर्तामा उत्साह थपिएको छ। विगत डेढ महिनादेखि सञ्चालन भइरहेको अभियानले माओवादी पार्टी र कार्यकर्तामा उत्साह थपेको माओवादीका नेताहरू बताउँछन्। यस जिल्लाका दसवटै स्थानीय तहका ८१ वटै वडामा माओवादीले एक महिनाअघिदेखि अभियान सञ्चालन गरिरहेको छ।  

डेढ महिनासम्म सञ्चालन भएको अभियानले माओवादी पार्टी पङ्क्तिलाई उत्साहित बनाएको माओवादी पाल्पाका संयोजक राजेन्द्र विश्वकर्माले बताउनुभयो। उहाँले भन्नुभयो, “अभियानले जनता र कार्यकर्तामा जाँदा उत्साह पैदा भएको पाएका छौँ, यसले कार्यकर्ता र पार्टीलाई थप बलियो बनाउँछ भन्ने विश्वास छ।” 

हरेक वडामा केन्द्रीयस्तरका नेता पुगेर जनता र कार्यकर्ताको गुनासो सुन्ने र सम्बोधन गर्ने कार्य भइरहेको माओवादीको भनाइ छ। लामो समयसम्म सरकारमा बसेर गरेका कामलाई पनि जनतामाझ लैजाने कार्यले कार्यकर्ता र पार्टी पङ्क्ति उत्साहित देखिएको नेकपा माओवादी केन्द्रका स्थानीय कमिटी सदस्य कृष्णध्वज खड्काले बताउनुभयो। 

अभियानले निष्क्रिय  बसेका नेता तथा कार्यकर्तालाई समेत सक्रिय बनाएको उहाँले बताउनुभयो। माओवादीका कार्यकर्ताले समेत यो अभियानले पार्टीलाई पुनर्जीवन दिने विश्वास गरेका छन् । अभियानले पार्टीका कमिटी, भ्रातृ संस्था तथा शुभेच्छुक संस्थालाई चलायमान बनाएको अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य पदम सोमैले बताउनुभयो।