• २६ वैशाख २०८२, शुक्रबार

मन्त्री फिर्ता बोलाउन प्रस्ताव

blog

काठमाडौँ, असोज १५ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका तर्फबाट सरकारमा सहभागी सबै मन्त्री फिर्ता बोलाउन प्रस्ताव गर्नुभएको छ । नेपाली कांग्रेस रूपान्तरण अभियान बागमती प्रदेशले आइतबार आयोजना गरेको कांग्रेस रूपान्तरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । 

अहिले सरकारमा रहेका कम्युनिस्ट पार्टीले मोर्चा बनाएकाले साढे दुई वर्ष उक्त मोर्चालाई एकलौटी रूपमा सरकार चलाउन दिएर कांग्रेसले फ्लोरमा बसेर समर्थन गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “आगामी आमनिर्वाचनमा जनताको घरदैलोमा जाँदा पछिल्लो पाँच वर्षमा गरेको कामको के प्रगति देखाउने ? बरु दुई–अढाई वर्ष समाजवादी मोर्चालाई सरकार चलाउन दिएर बाँकी दुई–अढाई वर्ष कांग्रेसले एक्लै सरकार चलायो भने सरकारले गरेको कामकारबाहीको सबै दोष कांग्रेसले लिनु पर्दैन ।”

कांग्रेसलाई नयाँ रूपान्तरणको नभई २००७ सालको जस्तो क्रान्तिको चेत भएको, २०१५ सालको जस्तो प्रगतिशील सोच भएको, २०४६ सालको जस्तो लोकप्रिय र २०६२ सालको जस्तो जनउत्तरदायी बनाउन आवश्यक रहेको उहाँको धारणा थियो ।

त्यस्तै कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेससँग जनताका प्रश्न नै प्रश्न रहेको बताउँदै पार्टीको आगामी मार्गलाई रूपान्तरण गर्न आवश्यक रहेको बताउनुभयो । पार्टीभित्रको किचलोले कार्यकर्ता र अभियान्तालाई विश्वास दिलाउन नसकिने बताउँदै उहाँले पार्टीले सबैको योगदानसहितको परिवर्तनको बाटो खोजेको बताउनुभयो ।

त्यस्तै कांग्रेस नेता अर्जुननरसिंह केसीले पार्टी रूपान्तरण सँगसँगै सिद्वान्त र पद्धतिमा समेत परिवर्तन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रक्रिया र पद्धतिलाई लोकतन्त्रमा रूपान्तरण गर्न नसक्दा रूपान्तरण पूरा हुन सक्दैन ।”

पार्टीभित्रका समस्याको समाधान र सरकारमा भएका गल्ती नेतृत्वले स्वीकार गर्नु नै रूपान्तरणको उदाहरण हुने जनाउँदै उहाँले जनतामा व्याप्त निराशा र बढ्दो अराजकतालाई नियन्त्रणमा लिन रूपान्तरण अभियान सार्थक हुनेमा उहाँको जोड थियो । त्यस्तै कांग्रेसका अर्का नेता दिलेन्द्रप्रसाद बडूले रूपान्तरण अभियानमा समाज र भूगोलको उत्साह भए पनि यो सङ्कल्पलाई अधुरो हुन नदिन कमजोरीतर्फ जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।