• १५ मंसिर २०८१, शनिबार

देश हाँक्ने शक्ति कम्युनिष्टमा मात्र छ : नेता नेपाल

blog

काँकडभिट्टामा अभियानको उदघाटन गर्दैै पार्टीका शीर्ष नेताहरु ।

लीलाराज खड्का 

बिर्तामोड, असोज १४ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का  अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा देश हाँक्न सक्ने शक्ति कम्युनिष्टमा मात्रै भएको बताउनुभएको छ ।

आज झापाको काँकडभिट्टामा समाजवादी जागरण अभियानको उद्घाटन गर्नुहुँदै नेता नेपालले सो कुरा बताउनुभएको हो । नेपालमा कम्युनिष्ट पार्टी बाहेक कुनै पार्टीले देश हाँक्न नसक्ने दाबी उहाँले गर्नुभयो ।   

सरकारले जनताको पीरमर्का नबुझेको उहाँले टिप्पणी गर्नुभयो । समस्या समाधान गर्नतिर सरकार लाग्न छाडेर अन्य काममा व्यस्त भएको उहाँले बताउनुभयो । “हिजो मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणबाट आएपछि जनताका समस्याको बारेमा पार्टीका तर्फबाट  सरकारले सम्बोधन गर्नुपर्ने कामहरूका बारेमा ज्ञापनपत्र बुझाएका छौँ” उहाँले भन्नुभयो ।

पूर्व प्रधानमन्त्री  नेपालले युवालाई रोजगार, कृषि उत्पादनमा लगायतका क्षेत्रमा लगाउन आवश्यक रहेको बताउनुभयो । सोही अभियानस्वरुप आफ्नो दल जागरण अभियान झापाबाट सुरु गरेको उहाँले बताउनुभयो । 

‘समाजवादको बाटोमा जान कम्युनिस्टबिच एकता आवश्यक रहेको भन्दै चार वटा पार्टीसँग मोर्चाबन्दी गरेको पनि उहाँले बताउनुभयो ।  मोर्चामा आउन चाहने अन्य कम्युनिष्ट पार्टीलाई समेत स्वागत गर्न मोर्चा तयार रहेको नेपालको भनाइ छ । 

पार्टीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले दलाल पुँजीवादी शासनले देश कब्जा गरेकाले जनताको गाँस, बास र कपासको व्यवस्था  हुन नसकेको बताउनुभयो ।  

महासचिव घनश्याम भुसालले गणतन्त्रले बाटो बिराएका कारण राजनीति बिग्रिएको बताउनुभयो । कृषिमा निर्भर ५९ लाख परिवारमध्ये ३० लाख परिवारलाई व्यवस्थापन गरेर कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ पार्टीले  अभियान सुरु गरेको भुसालको भनाइ छ ।  

कार्यक्रममा पार्टीका नेताहरू उपाध्यक्ष  घनेन्द्र बस्नेत, कृषि मन्त्री वेदुराम भुसाल, उपमहासचिव जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री, दीपक मनाङ्गे लगायतका नेता तथा कार्यकर्ताहरूको  सहभागिता रहेको थियो ।