• १३ साउन २०८१, आइतबार

चौँरी गोठमा रमाए पर्यटक

blog

नवराज श्रेष्ठ

रामेछाप, असोज १४ गते । रामेछापको पर्यटकीय क्षेत्र शैलुङमा चौँरीसँग जङ्गली बसाइ कार्यक्रम गरिएको छ । याक तथा चौँरी पर्यटन विकास कार्यक्रम अन्तर्गत असोज ११ गतदेखि १३ गतेसम्म तीनदिने कार्यक्रम गरिएको हो । 

शैलुङको पर्यटन विकास र प्रवर्धनका लागि शैलुङ खोलाखर्क चौँरीपालक कृषक समूह र शैलुङ खोलाखर्क होमस्टे बजार तथा पर्यटन प्रवर्धन समितिको सहकार्यमा पार्क एडभेन्चर काठमाडौँले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा सहभागी पाहुनालाई शैलुङ डाँडामा नै टेन्टमा बास बस्ने व्यवस्था मिलाइएको थियो । चौँरीसँग जङ्गली बसाइ कार्यव्रmममा विभिन्न क्षेत्र र पेसामा कार्यरत व्यक्तिलगायतले सहभागिता जनाएको शैलुङ खोलाखर्क होमस्टे बजार तथा पर्यटन प्रवर्धन समितिका अध्यक्ष दावासङ्बु शेर्पाले बताउनुभयो । 

“शैलुङको पर्यटन विकास र प्रवर्धनका लागि यो कार्यक्रम गरिएको हो, कार्यक्रममा काठमाडौँबाट विभिन्न क्षेत्रका ख्यातिप्राप्त दुई हजारभन्दा बढी पाहुना आउनुभयो, यसले शैलुङ क्षेत्रमा पर्यटन विकासमा थप टेपा पुगेको छ,” उहाँले भन्नुभयो । शैलुङ आएका पाहुनाले तीन दिनसम्म शैलुङको जङ्गलका चौँरी गोठमा घुम्नुका साथै शैलुङमा बास बसेर विभिन्न सांस्कृतिक कार्यक्रमबाट  मनोरञ्जन लिएको उहाँले बताउनुभयो । 

रामेछाप र दोलखाको सिमानामा पर्ने शैलुङ प्राकृतिक हिसाबले अत्यन्त मनोरम छ । धार्मिक हिसाबले पनि सो ठाउँलाई हिन्दु र बौद्ध धर्मावलम्बीको पवित्र भूमि मानिन्छ । स्थानीयका अनुसार सडक मार्गबाट पनि सहज रूपमा शैलुङ पुग्न सकिने भएपछि केही वर्षयताबाट शैलुङ घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ तर आवश्यक प्रचारको कमीले अझै पनि शैलुङ पुग्ने पर्यटकको सङ्ख्या कम छ ।