• ४ वैशाख २०८३, शुक्रबार

रेसुङ्गा विमानस्थलबाट साप्ताहिक चार उडान हुने, भाडादर वृद्धि

blog

रमेश विश्वकर्मा
गुल्मी, वैशाख ४ गते।
गुल्मीको रेसुङ्गा विमानस्थलबाट साप्ताहिक चार उडान हुनेभएको छ। यसअघि साप्ताहिक तीन उडान भएकोमा अबदेखि साप्ताहिक चार उडान हुनेभएको हो। रेसुङ्गा विमानस्थलमा पछिल्लो तालिकाअनुसार साप्ताहिक चार उडान आइतबार, मङ्गलबार, बिहीबार र शनिबार उडान हुने रेसुङ्गा विमानस्थल गुल्मीका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभयो।

स्टेशन प्रमुख थापाका अनुसार गुल्मी–काठमाडौँ हवाई भाडा तीन हजार रुपियाँभन्दा बढीले वृद्धि भएको छ। हवाई इन्धनको मूल्यवृद्धिसँगै भाडादर नयाँ कायम भएको हो। नयाँ भाडादर अनुसार, गुल्मी–काठमाडौँ दस हजार सात सय रुपियाँ र काठमाडौँ–गुल्मी दस हजार नौ सय रुपियाँ कायम भएको उहाँले बताउनुभयो।

यसअघि गुल्मी–काठमाडौँ सात हजार तीन सय रुपियाँ र काठमाडौँ–गुल्मी सात हजार पाँच सय रुपियाँ रहेको थियो। रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको १८ सिट क्षमताको ट्वीनअटर जहाजले उडान भर्दै आएको छ। काठमाडौँदेखि बिहान ६ः३० बजे र रेसुङ्गादेखि बिहान ७ः३० बजे उडान भर्नेगरेको छ।

पहाडी जिल्ला हवाई सेवासँग जोडिएपछि पर्यटकको संख्यामा केही हदसम्म भए पनि वृद्धि र यात्रुको चाप अत्याधिक हुनेगरेको छ। खराब मौसम हुँदा उडान स्थगित हुने यस विमानस्थलबाट दुई वर्षअघि नियमित उडान शुभारम्भ भएको थियो।