• १२ साउन २०८१, शनिबार

पर्यटक लोभ्याउने स्यार्पुताल (फोटो फिचर)

blog

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ र ५ मा फैलिएको स्यार्पुताल । तस्बिर: राजु

राजु लामिछाने

रुकुम पश्चिम, असोज १३ गते । असोज ११ गतेदेखि रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ मा “स्यार्पू, पर्यटन तथा व्यापार महोत्सव” चलिरहेको छ । कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थलको रूपमा रहेको स्यार्पुतालको छेउमै महोत्सव गरिनुको मुख्य कारण यही “स्यार्पुताल” हो । 

यति बेला यो ताल टम्म भरिएको छ । सिमै छरी लेकबाट दादुरे हुँदै झर्ने निश्चल पानीले स्यार्पुलाई यति बेला थप सुन्दर बनाएको छ । स्पार्पुगाउँ र दह गाउँको काखमा रहेको सुन्दर यो तालले यहाँको शोभा बढाएको छ ।   

बाँफिकोट गाउँपालिकाको वडा नम्बर ३ र ५ मा फैलिएको यो ताल विशेष गरी बर्खा याममा हेर्न लायक हुन्छ । २.६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको स्यार्पू तालको आकार भने वर्षा र हिउँदमा फरक हुन्छ । हिउँदको तुलनामा वर्षामा तालको आकार झन्डै दोब्बर बढी हुन्छ । असार पहिलो साताबाट भरिन सुरु गरेको ताल श्रावणको मध्यतिर आइपुग्दा पुरा भरिन्छ । भरिभराउ ताल भाद्र देखि असोज महिना भरी अवलोकनका लागि उपयुक्त मानिन्छ । त्यसपछि तालको आकार बिस्तारै घट्दै जान्छ । हिउँदमा पनि ताल रमणीय देखिन्छ । बजारको कोलाहल, हिलो, धुलो र धुवाँको सामना गरिरहेकालाई घुमघाम तथा रिफ्रेसका लागि यो ठाउँ उपयुक्त छ । 


तालको सुन्दरता अवलोकन गरेर दुःखलाई भुलाउन सकिन्छ भने आफैले बोटिङ गरेर मजा लिन सकिन्छ । परम्परागत काठका डुङ्गा विस्थापित गरेर ताल अवलोकनका लागि आउनेहरूका लागि आधुनिक ढुङ्गाको व्यवस्था छ । धित मरुन्जेल बोटिङको मजा लिन सकिन्छ । विशेष गरी तालबाट काठका डुङ्गा विस्थापित गरेर आधुनिक डुङ्गा राखिनु तथा खान र बस्नका लागि होमस्टेहरू सञ्चालन गरिनुले यहाँ घुम्न आउँनेहरुको सङ्ख्यामा वृद्धि भएको डुङ्गा सञ्चालकहरू बताउँछन् । मान्छेहरू छुट्टी मनाउनका लागि समेत आउने गरेका छन् । ताल हेर्न आएकाहरू डुङ्गा नचढी फर्किँदैनन् । 

पहाडको टुप्पोबाट बगेर आउने पानी तालमा मिसिने भएका कारण यहाँ स्नान गर्दा स्वास्थ्यका लागि फाइदाजनक रहेको पनि स्थानीयको विश्वास छ । जडीबुटी सहितको पानी तालमा मिसिने स्थानीय बताउँछन् । आवश्यक प्रचार तथा ठोस योजनाको अभावमा अहिले पनि धेरै मानिसहरू स्यार्पू तालका बारेमा अनभिज्ञ छन् । पर्यटनको प्रचुर सम्भावना भए पनि यहाँको पर्यटन प्रवर्द्धनमा सरोकारवालाहरू मौन बस्दा स्यार्पुताल गुमनाम छ । 


पर्यटनको क्षेत्रमा काम गर्ने पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षण केन्द्र रुकुमका संस्थापक सचिव गोपाल केसी स्यार्पूको पर्यटन प्रवर्द्धनका गुरुयोजना निर्माण, स्यार्पू तालका लागि आएको बजेटलाई पारदर्शी बनाउने र उक्त बजेटलाई उत्पादनमूलक कार्यक्रममा खर्च गर्नुपर्नेमा जोड दिनुहुन्छ । यति गर्न सकेमा स्यार्पूको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उहाँको विश्वास छ । 

अहिले गाउँपालिकाको आयोजना र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुकुम पश्चिमको व्यवस्थापनमा महोत्सव सञ्चालन भएको छ । महोत्सवसँगै स्यार्पूको अवलोकनका लागि अहिले दैनिक सयौँ पर्यटकहरू आउने गरेको प्रतिष्ठानका अध्यक्ष तुल देवकोटाले जानकारी दिनुभयो ।