• ८ मंसिर २०८१, शनिबार

नेपाली सभ्यता विश्वकै पहिलो

blog

पृथ्वीमा प्राणीको उत्पत्ति भएको विभिन्न विद्वान्को बेग्ला बेग्लै मत छ । कसैले अमिवादेखि मानिससम्मको विकासमा करोडौँ वर्ष लागेको बताएका छन् । अमिवा एक कोषीय जन्तु हो भने मानिस हड्डीसहितको बहुकोषीय जीव हो । पौराणिक शास्त्र अनुसार र आधुनिक सिद्धान्त अनुसार पनि जीव विकासको विषयमा करिब करिब मेल खान्छ । वेदको व्याख्या अनुसार पहिलो जीवको अवतार माछा हो, दोस्रो कछुवा, तेस्रो वराह, चौथो नृसिंह (आधा बाघ आधा मानिस), पाँचौँ वामन, छैटाैँ परशुराम, सातौँ राम, आठौँ कृष्ण, नवाैँ बुद्ध, दसौँ कल्की । पहिलो एक कोषीय जीव माछा, दोस्रो द्विकोषीय जीव कछुवा, तेस्रो वराह, चौथो आधा मान्छे, आधा जनावर, पाँचौँ वाम पुड्के मानिस, छैटौँ जङ्गली मानिस, सातौँ कृषि गर्न लागेको मानिस (राम), आठौँ पशुपालनको ज्ञान भएको मानिस (कृष्ण), नवौँ दर्शनशास्त्रतर्फ लागेको मानिस (बुद्ध) र दसौँ वैज्ञानिक आविष्कार गर्न सक्ने मानिसको रूप कल्की भनिएको छ । 

आधुनिक विकासवादी सिद्धान्तका व्याख्याता चाल्र्स डार्बिनले पनि एक कोषीय जन्तु अमिवादेखि पानी, जमिन, जङ्गल र बस्ती बसालेर बस्ने मानिससम्मको जीवको विकासको कल्पना गरेका छन्, जो पौराणिक वेदले परिकल्पना गरेको भगवान्को विकासको रूपसँगै झन्डै उस्तै उस्तै मेल खान्छ । वेदले जीवलाई भगवान्को रूपमा अथ्र्याएको छ, जुन माथि उल्लेख गरियो । त्यस्तै विकासवादी वैज्ञानिकको व्याख्या फरक भए पनि रूप उही छ । यसबाट के प्रमाणित हुन्छ भने हाम्रो पूर्वीय दर्शन संसारको पुरानो दर्शन हो र यसले त्यस बेला नै विज्ञान र प्रविधिको विकास गरेको थियो । हाम्रो सनातन संस्कृतिमै आजभन्दा हजारौँ वर्षअघि कुवेरले पुष्पक विमान बनाएका थिए । 

अब नेपाली सभ्यता र संस्कृतिसँग यो कसरी जोडियो त भन्ने प्रश्न उठ्छ । कुबेर हाम्रा धौलागिरि क्षेत्र म्याग्दीका पुलस्त्य ऋषिका नाति, भिश्रवा ऋषिका छोरा थिए, जसले आधुनिक विज्ञानको आविष्कार गर्न सुरु गरेका थिए । पुलस्त्य ऋषिका नाति रावणलाई मुस्ताङमा तपस्या गरेका शिवले बन्जर भूमि हालको श्रीलङ्कामा गएर बस्ती बसाल्न र त्यसको व्यवस्था गर्नसमेत अह्राएका थिए । (शिव गिता, (हिन्दी टिकासहित) पृ.३ खेमराज कृष्ण दास प्रकाशन)

नेपाली सभ्यता कति पुरानो हो, जनताको गौरवगाथा, उत्पादन पद्धति, उत्पादनपछिको वितरण पद्धति, समाज सञ्चालनको नियम, जात, भाषा, धर्म, संस्कृतिको गहन अध्ययन गरिएको छैन । आधुनिक कालमा पनि खाली विदेशी सोच अनुसार समाज, बुद्धिजीवी वर्ग तदर्थवादमा आधारित भएर चले । गहन जिम्मेवारीपूर्ण सोच भएन । यो अवस्थामा विश्वकै पुरानो हाम्रो सभ्यताको राष्ट्र आज किन यस्तो अवस्थामा पुगेको छ । हुन त संसारकै नियम हो– क्रान्ति, गठन, विगठन । यी प्राकृतिक कुरा भए । मानव सभ्यताको विकासमा राष्ट्रहरू सिर्जना भए । समाज, भाषा संस्कृतिको आ–आफ्नै पाराले विकास भए । त्यो स्वाभाविक होला तर क्रान्तिपछि परिवर्तन गर्ने वाहक संस्थाको नेतृत्व यदि पारदर्शी भएन भने त्यो राष्ट्र, समाजले दुःख पाउने कुरा स्वतः सिद्ध छ । 

नायक र खलनायक हरेक युगमा थिए । शिव सभ्यता, रामायण सभ्यता, महाभारत, बुद्ध, क्राइस्ट वा महमद जुनसुकै कालमा पनि सकारात्मक र नकारात्मक मानिस दुवै भेटिन्छन् । शिवको कालमा शिव–भष्मासुर रामायण कालमा राम–रावण, महाभारत कालमा कृष्ण–कंश दुवै खाले सकारात्मक र नकारात्मक पात्र हामी भेट्छौँ तर मानव सभ्यताको विकासको क्रममा सकारात्मक पात्रलाई नै बढी प्रश्रय दिएको पाइन्छ । 

नेपाली सभ्यता संसारकै पुरानो र गणना गर्नलायक सभ्यता हो । यो हजारौँ वर्षदेखि हिमालय क्षेत्र दक्षिण एसिया हुँदै, काश्मीर हिमालसम्म र दक्षिणतर्फ गङ्गोत्रीबाट बगेको गङ्गा नदीको किनार वारिपारि बसेको उब्जाउ भूमिको सभ्यता, जसलाई आर्यावर्त सभ्यता भनिन्छ । यो नै नेपाली सभ्यताको भ्रुण हो । पृथ्वीमा विशेष गरी छ वटा संस्कृति छन् ती हुन् – शिव संस्कृति, रामायण संस्कृति, महाभारत संस्कृति, बुद्ध संस्कृति, व्रmाइस्ट संस्कृति, महमद संस्कृति । यी संस्कृतिमा सबभन्दा पुरानो संस्कृति शिव संस्कृति हो । हिमालय पर्वत, मानसरोवर, गङ्गानदीको किनार, गुज्रात, पेसावर, अफगानिस्तान हुँदै इरान–ककेसियासम्म शिव सभ्यताको क्षेत्र हो । मानव सभ्यताको भ्रुण विश्वका १४ वटा अग्ला हिमालमध्ये आठ वटा नेपालमा पर्छन् । बाँकी दक्षिण–पश्चिम एसिया, मध्य एसिया, युरोप र उत्तर तथा दक्षिण अफ्रिकामा पर्छन् । त्यसैले मानव सभ्यताको भ्रुण यी हिमालय क्षेत्रबाटै भएको हुनु पर्दछ । दक्षिण एसियाबाट मध्यपूर्वको बाटो भएर युरोप हुँदै अफ्रिका अनि रुसको ककेसस, साइबेरिया, अलस्का उत्तर अमेरिका, अफ्रिकाको मोरक्को हुँदै दक्षिण अमेरिकामा मानव सभ्यताको विकास भएको पाइन्छ । त्यसमध्ये शिव संस्कृति सबभन्दा पुरानो हो । (प्रो. रिसेप तैयव, इर्दगान, मानव सभ्यताको इतिहास) 

उनले जी २० को बैठकमा सभ्यताको हिसाबले विश्वकै पुरानो शिव सभ्यताको उद्गम थलो नेपाल भएकाले जी २० देशले गरिब भए पनि नेपाललाई बैठकमा बोलाउन पर्छ भने । (अस्ट्रेलियाको सिड्नीमा सन् २०१४ को फ्रेब्रुअरी २१–२३ मा भएको बैठकमा) यसै गरी इरानका पूर्वराष्ट्रपति प्राडा महमद अहमदिनेजादले भनेका छन् – “नेपाली रगत र इरानी रगत एकै हो हामी सबै शिव मार्गी थियौँ । शिव सभ्यताको उद्गम नेपाल र हिमालयन क्षेत्र हो । (अहमदिनेजादले तेहेरान विश्वविद्यालयमा सन् २००७ मा दिएको वक्तव्य )

हाम्रो शिव गीता भन्छ– “शिव संस्कृति मानव संस्कृतिको पहिलो संस्कृति हो, जो जहिले पनि शोषणको विरोधमा छ । यो पद्धतिको पक्षमा छ, ज्ञानको पक्षमा छ, जुन संस्कृतिबाट रामायण सभ्यता, महाभारत सभ्यता आदि लाई पच्छ्याएका छन्, जुन ज्ञान आर्जन समाज सञ्चालन, समाज र प्रकृति बिचको अन्तरविरोध सञ्चालन, मानव सभ्यताको विकास, निर्माण र संरक्षण र संवर्धनका निम्ति अति आवश्यक छ र लिन जरुरी छ । यसलाई ज्ञानको व्याख्या गर्दै शिव गीतामा भनिएको छ : 


“नकर्मणा मनुष्ठानैर्न दानैस्तपसापीवः

केवल लभते मत्र्य किन्तु जानेन केवलम्”


अर्थात् काम गरेर दान दातव्य गरेर मानिसको मुक्ति हुन्छ र जुन बेला ज्ञान प्राप्त गर्दछ त्यसबेला मानिसको मुक्ति हुन्छ । (शिव गीता पृष्ठ ३६)

प्रसिद्ध विद्वान् एस.के भार्गव लेख्नु हुन्छ– “हिमालयको सभ्यता पहिलो र उत्कृष्ट छ । मानव सभ्यताको इतिहासमा यो सभ्यताले आर्यावर्त सभ्यताको रूप लिएको छ । हिमालयबाट उठेको यो सभ्यता गङ्गा नदीको तट हुँदै पाकिस्तानको सिन्ध प्रान्त, मध्यपूर्व, इरान, टर्की हुँदै ककेसिया र ककेसियाबाट युरोपतर्फ गएको हो भन्न सकिन्छ । यो सभ्यताको नायक भनेका भगवान् शिव हुन् । उनले मानव सञ्चालन विधि, प्रकृति र मानव तथा जीवको बिचमा एउटा नैतिक धरातलको पद्धति बसाए । (एस. के भार्गव, हिमालयन सिभिलाइजेसन, पृष्ठ ३६१) 

यसरी हिमालय क्षेत्रको सभ्यताको मुहान विश्वका १४ वटा हिमालमध्ये आठ वटा हिमाल हालको नेपालमा पर्दछन्, जहाँबाट विश्वको पहिलो सभ्यता शिव सभ्यताको उद्गम र सुरुवात भयो । त्यसैले नेपाली सभ्यता मानव सभ्यताको पहिलो हो भनेर भन्न सकिन्छ । 

नेपाली सभ्यता सबैभन्दा पुरानो हो भन्दै पुष्पलाल लेख्नुहुन्छ, “हालको भारतमा १७ वटा ठुला देश थिए । यी राज्यमा राजाको चुनाव हुन्थ्यो । यस अवधिमा यी आर्यकै एक शाखाको रूपमा किरात जातिलाई लिइएको थियो । यो पर्वतमाला र त्यसको मैदानी भागमा बस्ती विकास भइरहेको थियो । हालको भारतको उत्तरी विहार हाम्रो जनकपुर क्षेत्र गङ्गा नदीवारिको क्षेत्र जो मिथिला क्षेत्र भनिन्छ, यहाँ वृजि तथा मल्ल नामका राज्यहरूको सिर्जना भएको थियो । हाम्रो पहाडी क्षेत्र मैदानी क्षेत्रमा यसअघि नै मानव बस्ती बसिसकेको थियो । पश्चिममा सत्लज नदीदेखि पूर्वमा कोशी नदीको किनार यसका आसपासका उपत्यका र गण्डकी नदीको किनार र उपत्यका, कर्णाली नदीको किनार र उपत्यका, बागमती नदीको क्षेत्र काठमाडौँ उपत्यकामा, मानिसले बस्ती बसाइरहेका थिए । काठमाडौँमा तलाउ रहँदै यसको वरिपरि, शिवपुरी क्षेत्र लप्सेफेदी, गागलफेदी, गोदावरी वन, स्वयम्भू माथिको पाखामा मानिसको सभ्यता बसी सकेको कुरा इतिहासकार कर्कप्याट्रिकले समेत स्वीकारेका छन् । चिनियाँ यात्री ह्वेन साङले पनि नेपालको वर्णन गर्दा हालको काभ्रेको पाँचखाल उपत्यका, नुवाकोटको विदुर आसपासका उपत्यका र धादिङको केवलपुरका बस्ती भएको र त्यस बेलामा समाज मातृसत्तात्मक थियो ।” 

(पुष्पलाल : नेपालमा मातृसत्तात्मक समाज पृष्ठ १३)

यसै गरी प्रसिद्ध लेखक स्वामी प्रपन्नाचार्य भन्नुहुन्छ– “कतिपय इतिहासकार अङ्ग्रेजहरूको पछि लागेर आर्यहरू बाहिरबाट आएर हिमालय क्षेत्र र यसको नदी मैदान क्षेत्रमा सभ्यता बसालेको कुरा गर्छन् यो विलकुल गलत छ । मानव सृष्टि र सभ्यतामा हिमालय क्षेत्रको सभ्यता नै पहिलो हो । हिमालयबाट नै नदीको माध्यमबाट यो सभ्यता विस्तार हुँदै गयो ।” 

भारतीय प्रख्यात लेखक राहुल सांकृत्यायनले त नेपाली सभ्यता र नेपालको समाजलाई एसियाकै उत्कृष्ट समाजको रूपमा व्याख्या गरेका छन् – उनका अनुसार मगध राज्य बनाउन सफल आचार्य विष्णुगुप्त चाणक्यले पनि त्यस बेला नेपालमा उद्योगधन्दाको विकास भएको र नेपाली समाज सभ्य भएको बताएका छन् । 

‘‘कतिपय इतिहासकारले यो पनि भनेका छन् कि सिन्धुघाटीको सभ्यता वैदिक सभ्यताभन्दा पुरानो हो र आर्यहरूले बाहिरबाट आएर सिन्धुघाटीको सभ्यतालाई नष्ट पारेका हुन् तर वर्तमान समयमा उत्खनन गरेर निकालेका प्रमाणहरूले ती कुरालाई असत्य साबित गरेका छन् । किनभने सिन्धुघाटीको उत्खनन गर्दा जति शिलाहरू भेटिए ती शिला मोहरमध्ये एक शिलामा एउटा रुखको चित्र छ । त्यस रुखमा दुई वटा चरा बसेका छन् । तीमध्ये एउटाले रुखमा बसेर फल खाई रहेको देखिएको छ र अर्को चराले हेरी रहेको छ । यो चित्रलाई हेर्दा ऋग्वेदको १/१६४/२० चित्र जस्तो हुन्छ, जसमा प्रकृतिलाई रुख बनाएर जिवात्मा वा त्यो जीवात्मालाई परमात्माको रूपमा सम्झेर चराको रुखको प्राकृतिक सौन्दर्यको वर्णन गरिएको छ । यहाँ प्रकृतिको सजीव चित्रण छ । आखिर मानिसले कल्पना गरेको भगवान् पनि प्रकृति नै हो । यसलाई बौद्धिक युगभन्दा अघिको मान्न सकिन्न । त्यसमा पनि सिन्धुघाटीमा शिलापत्र उत्खनन गर्दा त्यस ठाउँमा शिव लिङ्ग भेटिएका छन् । यसबाट के पुष्टि हुन्छ भने सिन्धुघाटीको सभ्यताभन्दा हिमालय क्षेत्रको सभ्यता पुरानो हो । हिमालय क्षेत्र भनेकै नेपाली सभ्यता हो ।’’ (स्वामी प्रपन्नाचार्य वेदमा के छ – पुष्ठ १३)

“यसको अलावा आर्यहरूको जन्मथलो मानसरोवर नै हो, जहाँ कैलाशकुट पर्वत अवस्थित छ । प्राचीन राज्यको विस्तारमा शाक्य वंशको राज्य तिब्बतको सिगात्सेसम्म थियो । मानसरोवर रहेको ठाउँ नेपाली सभ्यताको उद्गम स्थल हो भन्नलाई कति पनि सङ्कोच मान्नु पर्दैन । त्यस बेला साना साना जनपद राज्यहरू थिए । ती जनपदमा राजा वा शासकको चुनाव हुन्थ्यो । ती स–साना जनपदको विशाल सङ्घ आर्यावर्त थियो । आर्यावर्त भनेको हालको नेपाल हो– त्यो आर्यावर्तको नियन्त्रण शाक्य राजाहरूले पनि गरे । यसअघि त्रेता युगमा राजा जनकले पनि गरे । (नेपाली सभ्यता विगत र वर्तमान – प्रकाशक विद्यार्थी पुस्तक भण्डार पृष्ठ १४)

यद्यपि अक्षर र लिपिको विकास चीनमा भयो भनिएको छ तर आर्य सभ्यता यसमा भएको शिव, रामायण, महाभारत र बुद्ध सभ्यता साथै शिव संहिताको सबभन्दा पहिला विकास भएको युग हेर्दा यहाँ नै पहिला संस्कृत भाषा त्यसपछि पाल्ही अनि मिथिला भाषाको विकास भएको प्रमाणित छ । हाम्रा अग्रजहरू शिव हुन् वा पछिका जनक वा सीता वा बुद्ध वा त्यसअघिका विराट वा यज्ञवाल्क्य, गार्गी, वाल्मीकि, वशिष्ठ, विश्वामित्र, दधिची, भृगु, गौतम, व्यास र कपिल आदि ऋषिमुनि, जसले शिव संहिता सृजना गरे । त्यो संहिता नेपालको अलावा सारा भारत वर्ष र ताओको रूपमा साह्रा चीनमा प्रसारित भएको छ, यो शिव सभ्यताकै देन हो, जुन पृथ्वीमा सबभन्दा पुरानो हो । त्यसैले आधुनिक युगमा – शिव र बुद्धले दिएको उत्पादन पद्धति अर्थशास्त्र र विज्ञानको विकासमा विष्णुगुप्त चाणक्यले कौटिल्य अर्थशास्त्र लेखे र त्यसलाई आधार बनाएर पश्चिमा लेखकहरू हेगेल र रिकार्डोले उत्पादनमा लगान र अतिरिक्त मूल्यको सिद्धान्त प्रतिपादन गरे । डार्बिनले मानव र प्रकृतिको करोडौँ वर्षमा भएको विकास र चेतनाको अभिवृद्धिको परिवर्तनको व्याख्या र यसमा आधारित रहेर माक्र्सले वर्ग सङ्घर्षका कुरा निकालेको यी सबै कुरा हाम्रा पूर्वीय शास्त्र वेद, पुराण तथा अन्य ग्रन्थमा पनि पाइन्छ । 

मानिसको चेतनाको विकासमा सामूहिकता, सरलता एकले अर्कालाई सघाउने शैली र लगनशीलताका साथै समाजप्रति भक्तिको खाँचो छ । बिस्तारै जङ्गली युगबाट खेतीको युगमा आएपछि व्यक्तिगततर्फ मानिसको ध्यान खिचियो । व्यक्तिगत सम्पत्ति भएपछि हिजोको सामूहिक काम अघि बढाउने मुखिया पछि शासन गर्न थाल्यो । विभिन्न मुखिया मिलेर एउटा ठुलो सङ्घ बनाउन थाले । त्यही मेसोमा देश सिर्जना हुँदै गए । (फेडेरिक एङ्गेल्स ः परिवार र निजी सम्पत्ति) । यसरी यो पृथ्वीमा खास गरी १२ औँ शताब्दी पछि आधुनिक राज्यको अवधारणा आयो । बेलायतमा १२ औँ शताब्दीको म्याग्नाकार्टाले यो विश्वमा आधुनिक राज्यको अवधारणा ल्याएको राजनीति शास्त्रीको भनाइ छ । यसै गरी किरात कालका २७ औँ राजा जितेदस्ती पूर्ण विलासी भएपछि लिच्छवि वंशले विद्रोहद्वारा नेपालको सत्ता कब्जा गरे । लिच्छवि वंशका राजाहरू मानदेव र अंशुवर्माको ख्याति भारतका धेरै राज्य र चीनमा पनि बढेको थियो । झन् अंशुवर्माको पालामा त भारतको सबभन्दा ठुलो राज्य मगध र यसका राजा समुद्र गुप्तले नेपाललाई निश्चित कर तिर्दथे । त्यही समयबाट दक्षिण एसियाका सबै राजाको पनि राजा भएकाले नेपालका राजालाई महाराजा भन्न लागिएको हो । 

त्यति मात्र नभएर नेपाली सभ्यतालाई विश्वमा प्रख्यात बनाउन लिच्छवि राजाहरूले खेलेको भूमिका विश्व प्रसिद्ध छ । अंशुवर्माको पालामा उनले आफ्नी छोरी तिब्बतको राजा स्रङचङ गम्पोलाई दिएर नेपालबाट बौद्ध धर्म चीनमा प्रचार गर्न सजिलो भयो । लिच्छविकालमा कला कौशलको व्यापक विकास भएर व्यापक रोजगारको विकास भएको थियो । त्यस बेलाको मूर्तिकला, वास्तुकला, त साँच्ची नै विश्व विख्यात थियो । पाटन, भादगाउँको मूर्तिकला त त्यस बेला हालको भारतका धेरै देशमा, चीनको बाटो हुँदै युरोपसम्म ती कलाका सामानहरू निकासी भएका थिए । त्यस बेलाको नेपाल र नेपाली सभ्यता स्वर्ण युगमा थियो । यो कुरा युरोपेली, चिनियाँ तथा भारतीय इतिहासकारले पनि व्याख्या विश्लेषण गरेका छन् । 

भारतीय प्रख्यात लेखक राहुल सांकृत्यायनले त नेपाली सभ्यता र नेपालको समाजलाई एसियाकै उत्कृष्ट समाजको रूपमा व्याख्या गरेका छन् – उनका अनुसार मगध राज्य बनाउन सफल आचार्य, विष्णुगुप्त चाणक्यले पनि त्यस बेला नेपालमा उद्योगधन्दाको विकास भएको र नेपाली समाज सभ्य भएको बताएका छन् । नेपाल कृषि र पशुपालनको क्षेत्रमा अब्बल रूपमा अगाडि रहेको पनि विष्णुगुप्त चाणक्यको भनाइ छ । उनका अनुसार, त्यस बेला नेपालले आफ्नो उत्तर छिमेकी चीन र दक्षिणको मगधलगायत विभिन्न देशमा ऊन निकासी गरेर आय आर्जन गरेको उल्लेख गरेका छन् ।

निष्कर्षमा भन्दा अफ्रिकी मानवभन्दा बेइजिङ मानव पुरानो त्यसपछि बुटवल मानव भन्ने अनुसन्धान भइरहेको छ । त्यसैले नेपाली सभ्यतालाई विश्वकै पुरातन सभ्यतामा गणना गर्न सकिन्छ ।