• २१ असार २०८१, शुक्रबार

मानवअधिकार रक्षकसम्बन्धी कानुन बनाउन आग्रह

blog

कार्यक्रममा बोल्नुहुँदै मन्त्री शिवराज भट्ट । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असोज १२ गते । मानव अधिकारकर्मीले मानवअधिकार रक्षकसम्बन्धी छुट्टै कानुन बनाउन प्रदेश सरकारलाई आग्रह गरेका छन् । इन्सेकद्वारा आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशको मानव अधिकारको अवस्था तथा मानवअधिकारसम्बन्धी कानुनी प्रावधान विषयक कार्यक्रममा यस्तो बताएका हुन् । 

कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले सुदूरपश्चिम प्रदेश सरकारलाई प्राथमिकतासाथ मानवअधिकार रक्षकसम्बन्धी विधेयक अगाडि बढाउन आग्रह गर्नुभयो । यसैगरी, अधिकारकर्मी चित्रा पनेरुले जिम्मेवार निकायलाई जिम्मेवार भएर आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले मानव अधिकारको रक्षाका लागि सबैभन्दा पहिले मान्छेमा चेतनाको विकास हुन आवश्यक रहेको चर्चा गर्नुभयो । 

“हामीले अधिकारको माग गर्दा अर्काको अधिकारको ख्याल गर्न पनि आवश्यक छ”, उहाँले भन्नुभयो, “समाजको निकासका लागि आवाज उठाउन म सबैलाई आग्रह गर्दछु ।” 

यसैगरी, प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री मानबहादुर धामीले सुदूरपश्चिम प्रदेश सभा सदैव मानवअधिकार रक्षाको कानुन निर्माण गर्ने पक्षमा रहेको बताउनुभयो । प्रदेश सभाको अघिल्लो कार्यकालमा सुदूरपश्चिम प्रदेशमा सङ्ख्याको हिसाबले थुप्रै कानुन बने पनि कार्यान्वयन हुन नसकिरहेको उहाँले उल्लेख गर्नुभयो । यसैगरी, कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले सबैले आफ्ना कर्तव्य निर्वाह गरेमा ९० प्रतिशत समस्या समाधान हुने बताउनुभयो ।