बिन्दु थापा
पाल्पा, असोज ११ गते । पाल्पाका चिकित्सकहरू अस्पतालको ओपिडी सेवा बन्दगरी आन्दोलनमा उत्रिएका छन् । पछिल्लो समय स्वास्थ्यकर्मीमाथि बढ्दैगएको भौतिक आक्रमणको विरोधमा पाल्पाका डाक्टरहरू सडकमा उत्रिएका हुन् ।
बिहीबार तानसेनको आन्दोलन चोकमा प्लेकार्डसहित नारा लगाउँदै विरोधमा उत्रिएका हुन् । उपचारका क्रममा बिरामीको मृत्युपछि सोमबार पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि आक्रमण भएकोमा आन्दोलित हुनुपरेको उहाँहरूको भनाइ छ ।
शृङ्खलाबद्ध तरिकाले पटक पटक आफूहरूमाथि भौतिक आक्रमण भइरहँदा अरूको ज्यान बचाउनुपर्ने डाक्टरहरूको शरीरको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने डाक्टरको माग छ । हेटौँडा र पोखरामा डाक्टरमाथि हातपात भएपछि चिकित्सकहरू सडकमा उत्रिएका हुन् ।
पाल्पामा रहेको पाल्पा अस्पताल, रामपुर अस्पताल, युनाइटेड मिसन अस्पताल, र लुम्बिनी मेडिकल कलेजका चिकित्सकहरूले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । चिकित्सकको माग पूरा नहुन्जेलसम्म विरोधको कार्यक्रम जारी राख्ने उहाँहरूको भनाइ छ ।