• १० मंसिर २०८१, सोमबार

शिक्षकको व्यवस्थापन

blog

ज्ञानको ज्योति दिने गुरु देवतुल्य छन् भन्ने हाम्रो शिक्षा परम्परा हो तर क्रमशः आधुनिक शिक्षा प्रणालीमा अन्यत्र शिक्षकको जति सुनुवाइ, सम्मान, प्रतिष्ठा रहे पनि नेपालमा उनीहरू राज्यको विभेदमा परेका छन् । बालबालिकालाई शिक्षा दिने शिक्षकको भूमिका सामाजिक चेतना विस्तार एवं नेपालको राजनीतिक परिवर्तनमा समेत गहन छ तर पञ्चायती निरङ्कुशताको समयमा मात्र होइन, उनीहरूकै बलमा प्राप्त प्रजातान्त्रिक व्यवस्थामा पनि सत्ताको विभेदमा परिरहेका छन् शिक्षक । राज्यले शिक्षकमै वर्ग विभाजन गरिदिएको छ । खास गरी विद्यालयमा सेवा गरिरहेका शिक्षक एवं कर्मचारीले पटक पटक सेवा, सुविधा र अधिकारका विषयमा आन्दोलन गर्नु परिरहेको छ । यतिखेर सङ्घीयताको संवैधानिक व्यवस्थाबमोजिम विद्यालय शिक्षासम्बन्धी ऐन निर्माणका लागि प्रस्तावित विधेयकका कतिपय प्रावधानमा पनि सामुदायिक शिक्षक, कर्मचारी असन्तुष्ट भएर आन्दोलनमा उत्रनु प¥यो । असोज ३ गतेदेखि काठमाडौँकेन्द्रित आन्दोलनमा उत्रिएको शिक्षक महासङ्घ र सरकारबिच छ बुँदे सहमति भयो तर पनि त्यो सहमतिले आफूहरूका समस्या सम्बोधन नगर्ने भनी राहत, बालविकास र पेन्सनबाट वञ्चित शिक्षकले आन्दोलन जारी राखेका छन् । 

विसं २०५६ देखि नयाँ शिक्षक दरबन्दी नथपिएपछि शिक्षक अपुग भएका विद्यालयमा अनुदानस्वरूप राहत शिक्षक भर्ना गरिएको थियो । विश्व बैङ्कको सहयोगमा सबैका लागि शिक्षा कार्यक्रममा विद्यार्थीको सङ्ख्या यकिन हुन नसक्दा २०५७ मा शिक्षा ऐन संशोधन भएपछि नियमावली बनाइएको थियो । विद्यालय शिक्षा विधेयक, २०८० मा पनि ४० हजार राहतका शिक्षककै लागि दरबन्दी थप्ने व्यवस्था गरिएको छ । यसअघि २०७५ असोज २१ मा देशभरका राहत शिक्षकले स्थायीको माग गर्दै बृहत् प्रदर्शन गरेका थिए । त्यही आन्दोलनका कारण शिक्षा मन्त्रालयले राहत शिक्षकका माग सम्बोधन गरेको थियो । 

सङ्घीय शिक्षा ऐन जारी नहुँदासम्म राहत शिक्षकले पनि स्थायी शिक्षकसरहको सेवा, सुविधा पाउने सहमति भएको थियो । सरकारले गत भदौ २७ गते संसद्मा दर्ता गराएको विधेयकमा ५० प्रतिशतलाई मात्र सीमित प्रतिस्पर्धा र ५० प्रतिशतलाई खुला प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । शिक्षक महासङ्घको नेतृत्वमा भएको सडक आन्दोलनका क्रममा सरकारसँग छ बुँदे सहमति भयो; जसमा ७५ प्रतिशत राहत शिक्षकलाई स्थायी गर्ने र अन्य २५ प्रतिशत खुलाबाट भर्ना गर्ने सहमति भयो तर अहिले राहत शिक्षक स्वतः स्थायी गर्नुपर्ने माग गर्दै आन्दोलनमा छन् । सरकारले आफूहरूलाई विस्थापित गर्ने तयारी गरेको तर्क उनीहरूको छ तर शिक्षकलाई स्वतः स्थायी गर्ने व्यवस्था गरिँदा त्यस्तो माग अन्य सेवा क्षेत्रबाट पनि उठ्ने छ अनि योग्यता प्रणाली औचित्यहीन हुन पुग्ने छ भन्ने मागकर्ताहरूले पनि मनन गर्नु पर्छ । 

वास्तवमा सामुदायिक विद्यालयमा स्थायी, राहत र निजी स्रोतबाट पारिश्रमिक पाउने शिक्षक, कर्मचारी छन् । तिनको काम र समय एउटै हो तर सुविधा, अधिकार र अवसरमा विभेद छ । वर्षौंदेखि स्थायी दरबन्दी पूर्तिको प्रक्रिया रोकिँदा अस्थायी, बालशिक्षाका शिक्षकको परीक्षा दिन पाउने उमेर सकिएको छ । विद्यालय सहयोगीहरूले जीवनभर अत्यन्त न्यून पारिश्रमिकमा काम गरी रित्तो हात विद्यालयबाट बाहिरिनु परेको छ । यस्तो अवस्थाले विद्यालय शिक्षक, कर्मचारीको मनोविज्ञान र मनोबल पक्कै बलियो बन्दैन । हीनताबोधले ग्रस्त व्यक्तिले अपेक्षा अनुसारको सेवा दिन सक्दैन । 

विद्यालय शिक्षा सुधारका लागि थुप्रै पक्षमा सुधार गर्नुपर्ने त छ नै; शिक्षक, कर्मचारीको सेवा, सुरक्षा र वृत्ति विकासका समस्या समाधान पनि प्राथमिक आवश्यकता बनेको छ तर अधिकार र सुविधाको खोजी गर्दा कर्तव्यप्रतिको जिम्मेवारी पनि उनीहरूले मनन गर्नै पर्छ । थोरै शिक्षक र कम पारिश्रमिक पाए पनि निजी विद्यालयको पढाइ गुणस्तर राम्रो तर आफूले विद्यार्थी आकर्षित गर्न नसकेको आत्म समीक्षा गरी शिक्षा प्रदान गर्न सक्नु पर्छ । मुलुकको योग्य जनशक्ति उत्पादनको पहिलो आधार नै उनीहरू हुन् । त्यसैले विद्यालय शिक्षक, कर्मचारीका समस्या छिटो समाधान गर्न प्रतिनिधि सभामा दर्ता भएको विधेयकलाई शिक्षकसँगको सहमतिलगायत असन्तुष्टहरूका विषय सम्बोधन हुने गरी परिमार्जन गर्नु पर्छ । यसका लागि कांग्रेस संसदीय दलले सरोकार भएका पक्षसँगको छलफल अगाडि बढाएको सकारात्मक छ । वास्तवमा यो विषयलाई सकारात्मक टुङ्गोमा पु¥याउन सरकार मात्र होइन, संसद्मा रहेका सबै दलको सकारात्मक पहल आवश्यक छ ।