मुना हमाल
सुर्खेत, असोज १० गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन र विकासको अगुवाइ गर्ने पार्टी एमाले भएको बताउनुभएको छ । बुधबारदेखि सुरु भएको एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले विकासको अभियन्ता र आधुनिकताको नायक एमाले भएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘राष्ट्र जोगाउने, समृद्ध गराउने, देशमा शान्ति सुव्यवस्था र सुशासन कायम गर्ने अभिभारा हामीमा छ । सुशासन र विकासका लागि हाम्रो पार्टीले अगुवाइ गर्छ ।’ नेकपा एमाले अरूजस्तो पार्टी नभएको उहाँले बताउनुभयो ।
उहाँले एमालेले देशमा विकासको बाटो देखाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमाले आयो र देशमा जनताले विकास देखे । एमालेले उत्साह जगायो । राजमार्ग, पुल, सडक बने । भूकम्पको पुनः निर्माण, अस्पताल, विद्यालय, विश्वविद्यालय, सरकार कार्यालयलगायत पुनर्निर्माण भयो ।’
एमालेले राष्ट्रको ढुकुटी खल्तीमा सार्ने अपराध ठान्ने भन्दै यसको विरोध गर्ने बताउनुभयो । उहाँले सुन तस्करीको छानबिन महिनासम्म आन्दोलन गरेर समिति बनाउन लगाएकाले एमालेसँग भएको सहमतिमा खेलबाड नगर्न पनि सरकारलाई सुझाव दिनुभयो ।
अहिलेको गठबन्धन सरकार गैर जिम्मेवार भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकार जनताको समस्या हेर्दैन । अहिले यो गठबन्धन सरकार गैर जिम्मेवार छ । घृणा र अपराधलाई बढुवा दिएको छ ।’ उहाँले असमान्ता, भेदभाव अन्त्य गरी सामाजिक न्याय र समनता सबैलाई हुनुपर्ने र राष्ट्रिय राष्ट्रिय एकता हुनुपर्ने भन्दै यसको महत्त्व आफूहरूले समाजलाई बुझाउने बताउनुभयो ।
उहाँले सरकारले अपराधलाई बढुवा दिएको पनि आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको गठबन्धन सरकारले अपराधलाई बढवा दिएको छ । मान्छे मार्नेलाई सरकारले सुटुक्क छोड्छ । गुण्डाको संरक्षण सरकारले गरेको छ ।’
उहाँले आफूले सरकार छोडेको दुई वर्षमै देश ओरालो लागेको र विकास निर्माणका काम नभएको दाबी गर्नुभयो । उहाँले अब एमालेले २०८४ सालको निर्वाचनमा मिसन बनाएर अघि बढेको र हरेक वडामा ५१ प्रतिशत एमाले हुनेगरी अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।
उहाँले कर्णाली प्रदेशमा कृषि उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले सरकारीमार्फत ठुलो मात्रामा उत्पादनमा वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । गठबन्धन सरकारको यसतर्फ ध्यान नगएको भन्दै पार्टीले नेतृत्व गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले कर्णाली प्रदेश प्राकृतिक र सांस्कृतिक हिसाबले समृद्धि भएको भन्दै विकासको सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कर्णाली प्रदेश प्राकृतिक र सांस्कृतिक हिसाबले समृद्ध प्रदेश हो । यसको अर्थ यहाँ विकासको सम्भावना छ । विभिन्न प्रकारका सम्भावना छ ।’
कर्णालीमा मानव संशोधन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, हवाई, यातायात लगायतको विकास गर्नु आवश्यक रहेको बताउनुभयो । भूमिअनुसार र मौलिक उत्पादन कसरी गराउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । यसतर्फ सरकारलाई सोच्ने फुर्सद नभएको उहाँले टिप्पणी गर्नुभयो ।