• ११ मंसिर २०८१, मङ्गलबार

मौलापुरको महादेव मन्दिर

blog

अध्ययन र प्रचारप्रसारको अभावका कारण नेपालका अनेकौँ धार्मिक, सांस्कृतिक सम्पदा ओझेलमा परेका छन् । रौतहटको मौलापुर नगरपालिका–५ मा रहेको अनेक रहस्यले भरिएको पुरातात्त्विक महत्वको पतौरा मन्दिर उपेक्षित सम्पदामा पर्दछ । यो एउटा यस्तो मन्दिर हो जसको जति उत्खनन गर्‍यो, जति अनुसन्धान ग र्‍यो उति नै नयाँ रहस्य उद्घाटित भइरहेको छ ।  

प्रारम्भमा यो मन्दिर सेनकालको भन्ने मानियो । पछि अर्को तथ्य फेला पर्‍यो र यसको इतिहास कर्नाटकालसँग जोडियो । अहिले त यो कर्नाटकालभन्दा पनि प्राचीन हो भन्ने विभिन्न तथ्य उजागर हुँदै छन् । यस मन्दिर र वरपरको क्षेत्रको उत्खनन गरी पुरातात्त्विक अध्ययन, अनुसन्धानले पूर्णता पाए सिम्रौनगढ राज्यको मात्र होइन नेपालको इतिहास नयाँ ढङ्गले अध्ययन गर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ । यो मन्दिर १० औँ शताब्दी आसपासको हुन सक्ने अनुमान छ । 

उक्त मन्दिरको पर्खालमा प्रयोग गरिएको इँटाको पुरातत्त्व विभागमा जाँच गरिँदा इँटा १० इन्चभन्दा बढी चौडाइको पाइयो । यस मन्दिरको अध्ययनमा संलग्नका अनुसार मन्दिरको पुनर्निर्माण कर्नाटकालमा (११–१२ औँ शताब्दी), फेरि अर्को पटक सेनकालमा (१५–१६ औँ शताब्दी) र पछिल्लो पटक अहिले भएको छ । हरेक पाँच सय वर्षको अन्तरालमा मन्दिर लोप हुने र पछि पुन : प्रकट हुने विश्वास गरिन्छ । 

बारी खन्ने क्रममा पुराना इँटा भेटिएपछि स्थानीयवासीले सामान्य उत्खनन गर्दा मन्दिरको संरचना भेटिएपछि तत्काल प्राप्त भएको शिवलिङ्गलाई मन्दिरमा प्रतिस्थापन गरी पूजाआजा गर्न थालिएको जनश्रुति छ । 

प्रारम्भिक उत्खननबाट मन्दिर सेनकालीन रहेको पाइयो । मन्दिरमाथि माली टोल रहेकाले थप उत्खनन कार्यमा बाधा पुगेपछि नगरपालिकाले बस्तीलाई अन्यत्र सारेर मन्दिर क्षेत्र खाली गराई पुरातत्व विभागद्वारा थप उत्खनन गरिँदा मन्दिरको पुनर्निर्माण कर्णाटकालीन भएको तथ्य फेला परेको थियो । 


उत्खनन गर्दै जाँदा जमिनको सतहदेखि करिब २२ फिट गहिराइसम्म यसको संरचना भेटिएको छ । सिम्रौनगढमा कर्णाटवंशीय शासन स्थापना हुने समयकै आसपासको रौतहटको ईशनाथ मन्दिर (स्थापना विसं १११४) लाई हेर्दा पतौराको महादेव मन्दिर अझ पुरानो हुन सक्ने अनुमान गरिएको छ । 

उत्खनन एवं अन्वेषणबाट प्राप्त अन्य तथ्य अनुसार मन्दिरसँगै एउटा दरबारको अवशेषसमेत भेटिएको छ । 

प्राचीनकालमा मौलापुर धर्म र आस्थाको केन्द्र रहेको विश्वास गरिन्छ । मौलापुर शब्द संस्कृतको ‘मौला’ र पुरबाट उत्पत्ति भएको हो । मानसार शिल्पशास्त्रका अनुसार मौलाको अर्थ भगवान् शिवको जटा हो भने पुरको अर्थ नगर हुन्छ । यस अर्थमा पनि मौलापुर शिवको जटाबाट उत्पत्ति भई परापूर्वकालदेखि नै पवित्र शिव भूमि रहेको कुरा सहजै बुझ्न सकिन्छ । 

पतौरा महादेव मन्दिरको विषयमा चासो बढेपछि बेलायतको डर्हम विश्वविद्यालयको पुरातात्त्विक टोलीले स्थलगत अध्ययन थालेको थियो । मौलापुर नगरपालिकाका अनुसार जमिनमुनि दुई मिटरसम्मको पुरातात्त्विक एक्सरे गर्न सक्ने मेसिनको सहायता लिएर रिची भिलिस र एलिक नेलोरको संयुक्त टोलीले पुरातात्त्विक अध्ययन थालेको थियो । 

सरकारले २०७५ सालमा देशैभरका पर्यटकीय गन्तव्यको प्रवर्धन र विकासका लागि सय नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक गर्दा मधेश प्रदेशबाट पतौरा महादेव मन्दिरलाई पनि छनोट गरेको थियो ।  

Author

कृष्ण अधिकारी