मीना कँडेल
कावासोती, असोज ९ गते । नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा जनशक्ति र भवन अभाव हुँदा सेवा प्रवाहमा समस्या हुँदैआएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि अस्पतालमा जनशक्ति मात्रै होइन, पूर्वाधारको समेत उस्तै समस्या रहेको छ ।
जिल्ला अस्पतालमा दैनिक सरदर तीनसय बिरामी उपचारका लागि आउने गरेका छन् । साँघुरो भवनबाट सेवा दिँदा एकै स्थानमा भीड धेरै देखिने गरेको छ । जिल्ला अस्पताल भए लगत्तै चार तलाको नयाँ भवन निर्माणको काम चार वर्षअघि नै थालिएको भए पनि भवनले पूर्णता पाउन सकेको छैन ।
भवन निर्माणको काम गण्डकी प्रदेश सरकार र ‘हेचर’ संस्थाको संयुक्त लगानीमा अगाडि बढाइएको थियो । सो संस्थाले कामलाई गति नदिँदा नयाँ भवन निर्माणले गति लिन नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “तत्कालीन समयमा सेवाग्राहीको खासै चाप नहुने गरेकामा अहिले सेवाग्राहीको चाप बढ्दा उक्त भवनबाट सहजरूपमा सेवा प्रदान गर्न कठिनाइ भएको छ ।” जिल्लामा बीमा कार्यक्रम लागु भएपछि अस्पतालमा थप बिरामीका चाप बढेको उहाँको भनाइ छ ।
जिल्ला अस्पतालमा बिस्तार गरिएको पाँच वर्ष पुग्दासमेत व्यवस्थित भवन निर्माणले पूर्णता पाउन सकेको छैन । विसं २०६४ मा निर्माण गरिएको ट्रष्टको भवनबाट जिल्ला अस्पतालको रूपमा सेवा प्रदान गरिँदैआइएकोे जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो । “पहिले सेवाग्राहीको चाप कम थियो, हाल सेवाग्राहीको सङ्ख्या बढ्दो छ, अस्पतालमा नयाँ रोगको उपचारका लागि सेवा थपिँदै गएका छन् । तर भवनको संरचना उस्तै छ, यसबाट सहज रूपमा सेवा प्रदान गर्न गाह्रो परिरहेको छ” सूचना अधिकारी सुवेदीले भन्नुभयो ।
जिल्ला अस्पतालबाट गत आर्थिक वर्ष २०७८–७९ मा ४९ हजार ८३० जनाले सेवा लिएका छन् । २०७९–८० मा ९० हजार ७५६ जनाले सेवा लिएको अस्पतालको तथ्याङ्क छ । त्यस्तै, ओपिडिमा २०७८–७९मा ३९ हजार ९४८ र २०७९–८० मा ५६ हजार ९३६ ले सेवा लिएको जनाइएको छ ।
दरबन्दीअनुसार छैनन् जनशक्ति
नवलपुरमा रहेको सो अस्पतालमा दरबन्दीअनुसारका जनशक्ति नहुँदा समस्या हुँदैआएको छ । पन्ध्र शय्याकाे उक्त अस्पताल पचास शय्याको अस्पतालका रूपमा सञ्चालनका लागि तयारी गरिएको छ । ३१ जनाको दरबन्दी भए पनि हाल १३ जना जनशक्ति मात्र छ ।
अस्पतालमा दरबन्दीअनुसारको जनशक्ति नहुँदा सेवा प्रवाहमा समेत समस्या हुनेगरेको अस्पतालका सूचना अधिकारी सुवेदीले बताउनुभयो । दरबन्दीअनुसार जनशक्ति आउने हो भने सेवालाई थप प्रभावकारी रूपमा प्रदान गर्न सकिने उहाँको भनाइ छ । दरबन्दी कम हुँदा बिरामीलाई सेवा प्रदानमा समेत समस्या हुनेगरेको छ ।
डायलायसिस सेवा विस्तारमा कठिनाइ
जिल्ला भित्रका मिर्गौलासम्बन्धी बिरामीलाई डायलाइसिसका लागि चितवन र काठमाडौं जानुपर्ने बाध्यता थियो । जिल्लाभित्रका रोगीलाई बाहिर जिल्ला जानुपर्ने बाध्यता एकातिर थियो भने आर्थिक अभावमा उपचार नपाएर ज्यान गुमाउनु पर्ने पीडा अर्काेतर्फ थियो । जिल्लाकै मध्यबिन्दु जिल्ला अस्पतालमा गत मङ्सिर १३ गतेदेखि मिर्गौलाका बिरामीका लागि डायलाइसिस सेवा सुरु गरिएपछि मिर्गौला पीडितहरुले राहत पाएका थिए ।
उपकरणको अभावमा जिल्ला अस्पतालमा डायलायसिस सेवा विस्तारमा कठिनाइ भएको छ । अस्पतालमा डायलायसिस सेवाका लागि हालसम्म थप ८० जना मिर्गौला रोगीले नाम लेखाएको जनाइएको छ । तर उपकरण र जनशक्तिको अभावमा थप बिरामीलाई सेवा प्रदान गर्न अस्पताल असमर्थ रहेको छ ।
यसका कारण सेवा लिन चितवन र काठमाडौँ पुग्नुपर्ने बाध्यता मिर्गौला रोगीहरूको छ । जनशक्तिको अभावमा एक सिफ्टमा नौ जनालाई मात्र सेवा दिएको अस्पतालले डायलाइसिस गर्ने चारवटा मेसिनमध्ये तीन वटाबाट एक सिफ्ट मात्रै सेवा दिन सुरु गरेको छ ।
मेडिकल सुपरिटेण्डेन्ट डा. कँडेलका अनुसार जिल्ला अस्पतालले पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि जिल्लाका स्थानीय तहहरूसँग सहयोग मागेको छ । उहाँका अनुसार जिल्लामा एकसय जनाको आसपास डायलासिस गर्नुपर्ने बिरामी रहेका छन् । अस्पतालमा कम्तीमा १० उपकरणमार्फत दुई सिफ्टमा सेवा प्रदान गर्नसके सेवा प्रवाह प्रभावकारी र सेवाग्राहीको लागि समेत सहज हुने भएकाले केन्द्र, प्रदेश र स्थानीय सरकारबाट आवश्यक स्रोतको सुनिश्चितता हुनुपर्ने उहाँको माग छ ।
सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा
जिल्ला अस्पतालमा लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरिएको छ । हालसम्म ४५ जना हिंसापीडित तथा प्रभावित व्यक्तिले सेवा लिएका छन् । जसमध्ये जवरजस्ती करणी १३ जना, करणी उद्योग २ जना, घरेलु हिंसा ३ जना, कुटपिट २० जना, साइकोसोसिल एसल्ट १ जना, सुसाइड प्रयास ६ जनागरी ४५ जनाले एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सेवा लिएका छन् ।
एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट लैङ्गिक हिंसापीडित एकल महिला, अपाङ्गता भएका महिला, बालबालिका, ज्येष्ठ नागरिक महिलाले सेवा लिएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । यस केन्द्रबाट स्वास्थ्य उपचार, चिकित्साजन्य प्रमाण सङ्कलन, परीक्षण एवं संरक्षण, मानसिक स्वास्थ्योपचार एवम् मनोसामाजिक परामर्श, सुरक्षा, आश्रय, कानुनी उपचार र जीविकोपार्जन तथा पुनःस्थापना गराउन खोलेका सेवाहरू बहुपक्षीय संयोजनद्वारा प्रदान गरिएको छ ।