• २४ वैशाख २०८१, सोमबार

नेपाल आयल निगमले सर्वसाधारणका लागि आइपीओ जारी गर्दै

blog

काठमाडौं, असोज ९ गते । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नेपाल आयल निगमले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने तयारीमा रहेको बताउनुभएको छ ।

मङ्गलबार नेपाल एलपी ग्यास उद्योग सङ्घको २८ औं वार्षिक साधारण सभामा बोल्नुहुँदै कार्यकारी निर्देशक थानीले यस्तो बताउनुभएको हो । उहाँले धितोपत्र निष्काशन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको बताउनुभयो ।

निर्देशक थानीले कम्तीमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधारणका लागि आईपीओ जारी गर्न प्रतिबद्ध रहेको जानकारी दिनुभयो । उहाँले सर्वसाधारण जनतालाई समेतलाई निगममा ओनरसिप बनाउन आईपीओ जारी गर्ने बताउनुभयो । उहाँले व्यवसायीहरुलाई स्टेकहोल्डर बनाउने र सर्वसाधरणलाई आइपीओ दिने तयरी रहेको पनि जानकारी दिनुभयो ।

निर्देशक थानीले विभिन्न प्राविधिक पक्षहरु रहेकाले केही समय लाग्ने बताउनुभयो । उहाँले ग्यास व्यवसायीहरुप्रति आयल निगम निर्मम हुने सोचमा नभएको बताउनुभयो । उहाँले सरकारले व्यवसायीहरुका मागहरु समयसापेक्ष रुपमा सम्बोधन चाँडै गर्ने बताउनुभयो ।

निर्देशक थानीले मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍य ाउने हिसाबले नेपाल आयल निगमले वि.स.२०८० असार ३१ देखि स्वचालित मूल्य प्रणाली लागू गरेको बताउनुभयो । उहाँले जनता, व्यवसायी र अन्य सबै क्षेत्रले स्वीकार गरेर अर्थतन्त्रमा टेवा पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले आयल निगम स्वचालित मूल्य लागू गरेपछि निगम अलिकति भए पनि नाफामा रहने जानकारी दिनुभयो ।

नेपाल एलपि ग्यास उद्योग संघका अध्यक्ष कुलप्रसाद मल्लीले डिजेल पेट्रोलको जस्तै एलपी ग्यासको पनि स्वचालित मूल्य लागू गर्न माग गर्नुभयो । उहाँले एलपी ग्यासको मूल्य अचानक बढ्दा व्यवसायीहरुलाई समस्या भइरहेको बताउनुभयो । उहाँले व्यवसायमा लागत अनुसारको मुनाफा आवश्यक हुने भन्दै आयात गर्ने र निर्यात गर्ने मूल्य सरकारको नियन्त्रणमा हुँदा एलपी ग्यास उद्योगले विभिन्न समस्या भोग्नुपरेको जानकारी दिनुभयो । 

उहाँले ग्यास उद्योगीहरुको नाफा १० वर्ष अगाडिको ३२ रुपियाँ अहिलेसम्म कायम रहेको बताउनुभयो । निगमले पेट्रोलको जस्तै एलपी ग्याँसको पनि स्वचालित मूल्य लागू नगरेर ग्यास उद्योगीहरुलाई पाखा लगाएको आरोप लगाउनुभयो ।