• ७ पुस २०८१, आइतबार

दशैँ–तिहारमा निरन्तर बजार अनुमगन हुन्छ : मन्त्री रिजाल

blog

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल । फाइल तस्बिर

काठमाडौं, असोज ९ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दशैँ र तिहारमा बजारमा हुने कृत्रिम अभाव र कालोबजारी रोक्न निरन्तर बजार अनुमगन गर्ने बताउनुभएको छ ।

मङ्गलबार नेपाल एलपी ग्यास उद्योग सङ्घको २८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारको तर्फबाट यस अवस्थामा ग्यास आपूर्तिको शृङ्खलालाई टुट्न नदिने र निरन्तर बजार अनुमगन गर्ने बताउनुभयो ।

‘‘हाम्रो देशको सन्दर्भमा एलपी ग्यासको बढी खपत घरायसी प्रयोजनमा हुने गरेको पाइन्छ । यसका अलावा, यातायात तथा उद्योग क्षेत्रमा पनि ग्यासको प्रयोग हुँदै आएको पाइन्छ । ग्यास आयातमा वर्षेनी अर्बौं रुपियाँ देश बाहिर गइरहेको तीतो यथार्थका बाबजुद एलपी ग्यास उद्योग नेपालको महत्त्वपूर्ण उद्योगमध्येको एक हो ।,’’ मन्त्री रिजालले भन्नुभयो, ‘‘यसले देशमा राजस्व अभिवृद्धि, रोजगारी सिर्जना, व्यवसाय अभिवृद्धि गरी आर्थिक क्षेत्रलाई चलायमान बनाइराख्नुमा ठूलो योगदान गरेको छ । आउँदै गरेको दशैँ तथा तिहार जस्तो चाड पर्वमा अन्य उपभोग्य वस्तुबाहेक एलपी ग्यासको पनि बजारमा माग बढ्न जान्छ । यस्तो समयमा बजारमा कृत्रिम अभाव र कालाेबजारीको पनि सम्भावना रहन्छ । सरकारको तर्फबाट यस अवस्थामा ग्याँस आपूर्तिको शृङ्खलालाई टुट्न दिने छैन र निरन्तर बजार अनुमगन गरिनेछ ।’’

मन्त्री रिजालले २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न खनिज, उर्जालाई स्वच्छ एवम् नविकरणीय उर्जाले विस्थापित गर्ने नीति लिएको पनि उल्लेख गर्नुभयो । उहाँले जीवाश्म इन्धनको प्रयोगलाई विस्तारै घटाउँदै जानुपर्ने अवस्था आइसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘२०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न खनिज, उर्जालाई स्वच्छ एवम् नविकरणीय उर्जाले विस्थापित गर्ने नीति लिएको छ । जसअनुसार हामीले आगामी दिनहरुमा जीवाश्म इन्धनको प्रयोगलाई विस्तारै घटाउँदै जानुपर्ने अवस्था आइसकेको छ । यद्यपि तत्कालै देशभित्र नवीकरणीय र हरित उर्जाको पर्याप्त मात्रामा उत्पादन भइ नसकेको वर्तमान अवस्थामा एलपी ग्यास लगायत अन्य पेट्रोलियम इन्धनको आयातलाई तत्काल निषेध वा निरुत्साहित गर्न सकिँदैन ।’’

उहाँले तत्कालै देशभित्र नवीकरणीय र हरित उर्जाको पर्याप्त मात्रामा उत्पादन भइनसकेको वर्तमान अवस्थामा एलपी ग्यास लगायत अन्य पेट्रोलियम इन्धनको आयातलाई तत्काल निषेध वा निरुत्साहित गर्न नसकिने बताउनुभयो ।

मन्त्री रिजालले उद्योगीहरुले व्यवसायिक निष्ठा कायम राख्दै ग्यास उद्योग मर्यादित, व्यवस्थित र सुरक्षित उद्योगको रुपमा विकास गर्न आग्रह गर्नुभयो । उहाँले सबै ग्यास उद्योगले आम जनताको जिउधनको सुरक्षालाई प्राथमिकतामा राखेर मात्रै आफ्ना उत्पादन बजारमा ल्याउन आग्रह गर्नुभयो । उहाँले सरकारले तोकेको सबैखाले मापदण्ड पूरा गर्न आग्रह गर्नुभयो ।