• १४ मंसिर २०८१, शुक्रबार

म्याद गुज्रेका सामान बेच्नेलाई लाख जरिवाना

blog

फडिन्द्र अधिकारी

लेखनाथ, असोज ८ गते । बजार अनुगमन समिति कास्कीले पोखरामा बजार अनुमनलाई निरन्तरता दिएको छ । सोमबार समितिले पोखरा ७ मा रहेको मीनबहादुर शेरचन स्टोर्सलाई एक लाख जरिवाना गरेको छ । 

स्टोर्समा म्याद गुज्रेका सामान बिक्री गरेको भेटिएपछि समितिले एक लाख रुपियाँ जरिवाना तोकेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समिति संयोजक गुरुदत्त ढकालले जानकारी दिनुभयो । 

मीनबहादुर शेरचन स्टोर्सलाई १२ ग्यालिन पाँच लिटरको तोरीको तेल लेबलिङ नभएकोसहित मिटमसला, चिजवल १५ प्याकेट लगायतका करिब २९ हजारका समान म्याद गुज्रेको नियन्त्रणमा लिएर समितिले नष्ट गरेको छ । स्टोर्सका सञ्चालक दीपक शेरचनलाई कागजपत्रसहित तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन निर्देशन दिइएको छ ।

समितिले पोखरा ३ पालिखेचोकको गौरव ट्रेडर्सलाई १० हजार जरिवाना गरेको छ । गौरवमा पनि म्याद गुज्रिएका सामान भेटिएको थियो । पालिखेचोककै किराना पसल सञ्चालक रेशमलाल श्रेष्ठलाई पाँच हजार जरिवाना गरिएको छ । श्रेष्ठको पसलबाट म्याद गुज्रेको ११ किलो सुजीसहित अरु पदार्थ भेटिएका थिए । श्रेष्ठको पसल दर्तासमेत नभएको पाइएको छ । 

आइतबारको अनुगमनका पोखराको चिप्लेढुङ्ंगामा रहेको भागिरथ स्टोर्सलाई ५० हजार रुपियाँ जरिवाना गरिएको थियो । स्टोर्समा म्याद गुज्रेको खानेतेल, लेवल नभएका झिलिंगा, कीरा परेको २५ किलो सुपारी नियन्यत्रमा लिएर समितिले नष्ट गरेका थियो । समितिले लापरवाही गर्ने पोखरा ५ प्रस्र्याङमा रहेको केसी स्टोर्सलाई पनि १५ हजार रुपियाँ जरिवाना गरेको थियो ।