ललितपुर, असोज ८ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयता कार्यान्वयनमा जिम्मेवार बन्न आग्रह गर्नुभएको छ ।
बिपी स्मृति भवनस्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्य समितिको बैठकमा बोल्नुहुँदै उहाँले संघीयता प्रणाली सुधार गर्नुपर्ने विषयमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “सङ्घीयता सुधार गर्नु ठीक हो तर यो अरु कसैले बोकाइदिएको भारी हो । हामीले बाेक्दिनु मात्रै पर्छ भन्ने । कांग्रेस प्रजातान्त्रिक पार्टीको मूलधारको पहिलो राजनीतिक दल हो ।”
उहाँले एकात्मक प्रणालीबाट वर्तमान अवस्थामा ल्याउने नेपालको राजनीतिक दलमध्ये निर्णय गर्ने पहिलो पार्टी हो भन्नुहुँदै जिम्मेवार बन्न आग्रह गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “सङ्घीयताको निर्णय गर्ने पहिलो पार्टी हो । यसलाई सफल बनाउने काम हाम्रो हो ।”
उहाँले आवश्यक कानुन नबनेका कारण विभिन्न मन्त्रालयका दर्जनौं काम अघि नबढेको बताउनुभयो । उहाँले भन्नुभयो, “४० वटाभन्दा बढी कानुन बनाएका छैन । आफैंले स्थापित गरेको आन्दोलनलाई असफल बनाएर कता पुग्छौं ? जिम्मेवारीका साथ छलफल गर्नुपर्नेछ ।”
उहाँले कांग्रेस नयाँभन्दा पनि पुरानो जस्तो बनाउनुपर्ने भनाइ राख्नुभयो ।
“सभापति शेरबहादुर देउवाले पार्टी सदस्यता लिँदै गर्दाको जस्तो, पूर्णबहादुर खड्काले सदस्यता लिँदै गर्दा जस्तो बनाऔं”, उहाँले कांग्रेस वास्तवमा जस्ते हो त्यस्तै देखिने गरी पार्टी निर्माण गर्नुपर्ने बताउनुभयो ।