• ९ जेठ २०८१, बुधबार

कोशीमा थपिए दुई मन्त्री र दुई राज्यमन्त्री

blog

शपथ ग्रहण गर्नुहुँदै नवनियुक्त मन्त्री र राज्यमन्त्री । तस्बिर : गोकुल पराजुली

गोकुल पराजुली
विराटनगर, असोज ८ गते ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तारसँगै मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्नुभएको छ ।

दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएका मुख्यमन्त्री कार्कीले आज (सोमबार) दुई मन्त्री र दुई राज्यमन्त्री थप गर्नुभयो । नयाँ मन्त्री थप भएसँगै मन्त्रिपरिषद् नौ सदस्यीय भएको छ ।

मुख्यमन्त्री कार्कीले आज बुद्धिकुमार राजभण्डारी र लीलाबल्लभ अधिकारीलाई मन्त्री नियुक्त गर्नुभएको छ भने रामप्रसाद महतो र निरन राईलाई राज्यमन्त्री नियुक्त गर्नुभएको छ ।

मन्त्रिपरिषद् विस्तारसँगै यस अघि खानेपानी, सिंचाइ तथा उर्जा मन्त्री रहनुभएका तिलकुमार मेन्याङ्बो(लिम्बू)को जिम्मेवारी परिवर्तन गरी स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

सोमबार नियुक्त लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री बन्नुभएको छ भने बुद्धिकुमार राजभण्डारी खानेपानी सिंचाई तथा उर्जा मन्त्री बन्नुभएको छ । यस्तै, रामप्रसाद महतो कृषि राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्री बन्नुभएको छ ।

मन्त्रिपरिषद् विस्तारपछि पनि मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी साथमै राख्नुभएको छ ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुको केही बेरपछि प्रदेश प्रमुखको कार्यालयमा शपथ गराउने कार्यक्रम छ ।

सर्वोच्च अदालतले अघिल्लो सरकारको वैधानिकता अन्त्य गरेपछि भदौ २२ गते संविधानको धारा १६८(३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको नेताको हैशियतमा हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । सोही दिन उहाँले तीन मन्त्री र एक राज्यमन्त्रीसहित पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । उहाँले आज दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।