गोरखापत्र अनलाइन
काठमाडौं, असोज ८ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शक्ति विभाजित भए पनि सत्य कहिल्ये विभाजित नहुने हुनाले सत्य काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । काठमाडौंमा सोमबार आयोजित एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा उहाँले सो कुरा बताउनुभएको हो ।
अध्यक्ष ओलीले भन्नुभयो, “सरकारलाई भन्न चाहन्छु, शक्ति विभाजित हुन्छ, सत्य विभाजित हुँदैन । सत्यसँग सिङ्ग नजुधाउनुस्, शिक्षकसँग दम्भ नदेखाउनुस्, चलाखी नगर्नुस् । एकथरी शिक्षकसँग वार्ता गरेर अर्कोथरी शिक्षकप्रति विभेद नगरियोस्, लोकतन्त्रमा यस्तो हुँदैन ।”
सरकारले राष्ट्रियता, सुशासन, विकास, भ्रष्टाचार न्यूनिकरणमा काम गर्न नसकेको उहाँले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “सचेत नेपाली जनताका आगाडि राष्ट्रियताको आन्दोलन अगाडि बढाउने प्रणालीको मूलतः हामीले रक्षा गर्छौं । कमीकमजोरी हटाउँछौं । जनताका शासन भएको जनताका लागि काम गर्ने शासन भएको त्यस्तो देश बनाउँछौं । समृद्ध नेपाल सुखी नेपाली बनाउँछौं ।”
उहाँले एमाले फुटाउने अनेकन प्रयास भइरहेको समेत आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “कति फाटो बनाउने प्रयास अनेक ढंगले एमालेलाई फेरि पनि फुटाउने प्रयास भइरहेको छ । त्यो प्रयास एमालेले चक्नाचुर बनाउँछ ।” एमाले बलियो शक्ति भएकाले फुटाएर अस्थिरता मच्चाउने शक्ति चलायमान रहेको उहाँले बताउनुभयो ।
एक ढिक्का भएर लोकतन्त्रको अभ्यास गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तपाई सबै प्रतिनिधिलाई भन्न चाहन्छु, एकमत, एक ढिक्का भएर लोकतन्त्रको अभ्यास गर्नुपर्छ । मिल्दा चाहिँ लोकतन्त्र हुँदैन भन्ने होइन, मिल्नु सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास हो । एकताबद्ध भएर सर्वसम्मत नेतृत्व छान्नमा अघि बढ्नुहोला ।”