• ५ जेठ २०८१, शनिबार

६ टन अस्वस्थ माछा बरामद

blog

अनुगमन टोलीद्वारा अस्वस्थ माछा बरामद गरिँदै । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, असोज ८ गते । झापाको दमकमा धेरै चलेको दमकको अम्बिका माछा फ्राइमा दमक नगरपालिकाको अनुगमन टोलीले अनुगमन गरेर ६ टन अस्वस्थ माछा बरामद गरेको छ । 

दमक नगरपालिका उपप्रमुख एवं अनुगमन समिति संयोजक रेगिना भट्टराई प्रसाइका अनुसार अति नै फोहोर तवरले डिफ्रिजमा माछा राख्ने गरेको, भारतबाट फर्मालिन लगाएको, मरेको माछा भेटिएको बताउनुभयो । उहाँका अनुसार सरसफाइमा ध्यान नदिएको पाइएको छ । हामीले करिब ६ टन माछा जफत गरेर नष्ट गरेका छौं, उहाँले भन्नुभयो ।

अन्य माछा पसलमा समेत अनुगमन गरिएको थियो । अनुगमन टोलीले अनुगमन सुरु गरेपछि भारतबाट ल्याएर माछा बिक्री गर्ने होटल तथा  व्यापारीले हतार–हतार माछा लुकाएको बताइन्छ । 

हामी भारतबाट आयातित प्रतिबन्धित र खान अयोग्य तथा फर्मालिन लगाइएका माछा बिक्रीलाई निरुत्साहित गर्न नियमित बजार अनुगमन गर्छौ, उहाँले भन्नुभयो ।  

नगरपालिकाले मापदण्ड पूरा गरेर नेपाली माछा बिक्री गर्न व्यवसायीलाई निर्देशन पनि दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश कार्कीका अनुसार मानव स्वास्थ्यमा प्रतिकुल हुने किसिमले माछा विक्री बितरण गरेको पाइएकाले यहाँ रहेका सबै माछा जफत गरिएको हो ।

दमकमा सबैभन्दा चलेको र पुरानो माछा फ्राइ होटलको रुपमा प्रख्यात रहेको स्थलमा अनुगमनका लागि उपप्रमुख भट्टराईसहित इलाका प्रशासन कार्यालय दमकका प्रमुख महेशराज तिम्सिना, इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोज लामालगायतको टोली पुगेको थियो ।

सो टोलीले दमकका अन्य माछा फ्राइ तथा पसलमा अनुगमन गरे पनि उनीहरुले अगाडि नै माछा लुकाइसकेको अनुगमन समितिका एक सदस्यले बताउनुभयो । एउटा पसलमा अनुगमन गरेर माछा जफत गरेको फोटो र भिडियो सामाजिक सञ्जालमा आएपछि लुकाएको हुनसक्छ, ती सदस्यले भन्नुभयो ।