• ५ जेठ २०८१, शनिबार

पहिरो पीडितलाई अस्थायी आवास गृह हस्तान्तरण

blog

मैवाखोला गाउँपालिका पहिरो पीडित परिवारलाई हस्तान्तरण गरिएको अस्थायी आवास गृह । तस्बिर : चन्द्र चन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा निर्माण गरिएको अस्थायी आवास गृह (घर) पहिरो पीडितलाई हस्तान्तरण गरिएको छ । मैवाखोलाका पहिरो पीडितका लागि निर्माण गरिएको अस्थायी एकीकृत आवास घर पीडित परिवारलाई सोमबार हस्तान्तरण गरिएको हो । 

गत असार पहिलो साता भीषण वर्षासँगै गएको बाढीपहिरोका कारण विस्थापित तथा उच्च जोखिममा परेका साँघु ओदक टोलसहित मैवाखोला गाउँपालिकाका पहिरो प्रभावित ६५ परिवारलाई अस्थायी आवास घर हस्तान्तरण गरिएको हो ।

पहिरोको जोखिममा परेका परिवारमध्ये उच्च जोखिमका साथै विस्थापित भएका परिवार सङ्ख्याको आधारमा निर्माण गरिएको ६५ वटा आवास गृह पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । 

गत साउन ७ गतेबाट सुरु गरेको अस्थायी आवास घर दुई महिनाको अवधिमा निर्माण सम्पन्न गरेसँगै पहिरो पीडित परिवारलाई वितरण गरिएको छ । मैवाखोला गाउँपालिका –३ साँघुस्थित मदन भण्डारी स्मृति रङ्गशालामा निर्माण गरिएको आवास गृह गाउँपालिका अध्यक्ष बिजयप्रकाश वनेम, उपाध्यक्ष कमलकुमारी लिम्बू, सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराई लगायतले संयुक्त रुपमा पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको छ । 

मैवाखोला गाउँपालिका –४ साँघ ओदक टोलका ६२ परिवार, ताम्राङ टोलका दुई र वडा ३ का एकगरी ६५ परिवार रहेका छन् । पहिरो पीडित ६५ मध्ये ६३ परिवार शेर्पा समुदायका र दुई परिवार लिम्बू समुदायका रहेको गाउँपालिकाले जनाएको छ । 

यता अस्थायी आवास गृह निर्माणका लागि श्रमदानसमेत एक करोड ५० लाख ५३ हजार ७८७ रुपियाँ खर्च भएको गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले जानकारी दिनुभयो । गोम्देनका अनुसार आवास गृह निर्माणका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकाय, व्यक्ति तथा संस्थाबाट ५५ लाख ९२ हजार ७७० रुपियाँ सहयोग गरिएको छ । 

यस्तै, गाउँपालिकाको २६ लाख ६० हजार १७ रुपियाँ र श्रमदानबापत ६८ लाख एक हजार रुपियाँ बराबर खर्च भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार पाँच जनासम्म सदस्य भएका परिवारका लागि ३६ वटा, आठ जनासम्म सदस्य भएका परिवारका लागि २३ र १२ जनासम्म सदस्य भएका परिवारका लागि ६ वटा अस्थायी आवास गृह निर्माण गरिएको छ । 

यता, पीडित परिवारलाई आवास गृह हस्तान्तरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष वनेमले घर निर्माण कार्यमा सहयोग गर्न सबै पक्षलाई धन्यवाद दिँदै आभार व्यक्त गर्नुभयो ।