अर्जुन काफ्ले
स्याङ्जा, असोज ८ गते । वालिङ नगरपालिका–१४ र भीरकोट नगरपालिका–९ अँधेरी खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे निर्माणसँगै एक घण्टा लाग्ने ठाउँमा अब पाँच मिनेटमा छोटिएको छ ।
पुल निर्माणले वालिङ–१४ सिर्बानीदेखि करादी, सिम्ले, ठाना र भीरकोट–९ को काभ्रे, साउन्दीका स्थानीयलाई सहज भएको हो । स्थानीय रोमाकान्त न्यौपानेले विगतमा पुल नहुँदा एक घण्टा लाग्ने पैदल यात्रा पुल बनेसगै पाँच मिनेटमा छोटिएको बताउनुभयो ।
विगतमा खोलामा निस्केर उकालो चढ्दै ओहोरदोहोर गर्नुपर्ने बताउनुहुँदै न्यौपानेले पुलले धेरै कुरामा सहज बनाएको जानकारी दिनुभयो ।
स्थानीय पूर्वाधार विकास विभाग पुल महाशाखाले सिर्बानीबाट झररेसम्म जोड्ने गरी सस्पेन्सन डी झोलुङ्गे पुल बनाएको हो ।
पुल सम्झौताको एक वर्षमा बीएलटी कन्ट्रक्सन प्रालिले ७० लाखको लागतमा निर्माण गरेको हो । १५२.३ मिटर लम्बाइ रहेको पुल ४६ मेट्रिक टन बव गर्ने र ३२९ जना एकै पटक चढ्न सक्नेछन् ।
यस्तै, पुलले वालिङ १४ का करादी, सिम्ले, ठानाका नागरिकलाई वडा कार्यालय पुग्न पनि सहज भएको न्यौपानेले बताउनुभयो । झोलुङ्गे पुलको पूर्वमन्त्री पद्माकुमारी अर्यालले गत असोज ५ गते उद्घाटन गर्नुभएको थियो ।