• ४ जेठ २०८१, शुक्रबार

च्याछरा झरना घुम्न आउने पर्यटक बढे

blog

नाम्खा गाउँपालिका– २ को च्याछरा झरना । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, असोज ८ गते । नाम्खा गाउँपालिका– २ को च्याछरा झरनामा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएको छ । जिल्लाकै लामो झरना भएको र आउजाउ गर्न समेत सहज भएको कारण उक्त झरना घुम्न जाने पर्यटक सङ्ख्यामा वृद्धि भएको हो ।  

सो झरना घुम्न पुग्नुभएकी छपाल लामाले कर्णाली करिडोरको सडक किनारमा च्याछरा झरना पर्ने भएकाले जोकोही मानिस गाडीबाट झरेर झरनाको मजा लिनसक्ने बताउनुभयो । उहाँले कतिपय आन्तरिक पर्यटक सिमकोटबाट गाडी रिजर्भ गरेर झरना घुम्न जानेगरेको बताउनुभयो । 

त्यसैगरी पैदल मार्गबाट जाने बाह्य पर्यटकले समेत झरनाको मज्जा लिने गर्नुभएको छ । जिल्लाकै लामो झरना भएको, फोटो खिच्दा पनि दृश्य रमाइलो आउने भएका कारण झरनाले जोकोहीको मन लोभ्याउने गरेको आन्तरिक पर्यटकको भनाइ छ । 

यस वर्ष मात्र च्याछरा झर्नामा तीन पटक पुग्नुभएका कृष्ण तामाङले अझै प्रचार प्रसार गर्न सके बाह्य पर्यटक पनि बढ्ने बताउनुभयो । उहाँले झरनाको पानी खस्ने स्थानमा शीतल हुने भएका कारण पनि जति पटक गए पनि जाउँ लाग्ने बताउनुभयो । 

यसको प्रचार र ब्यवस्थित गर्नु आवश्यक रहेको बताउँदै उहाँले यसबाट नाम्खा गाउँपालिकाले फाइदा लिनसक्ने बताउनुभयो । सिमकोटबाट गाडीमा दुई घण्टामा पुग्न सकिने भएको कारण पनि शनिबार आन्तरिक पर्यटकहरु गाडी रिजर्भ गरेर च्याछरा जाने गर्दै आउनुभएको छ । उहाँले दैनिक बीसदेखि तीस जनाले झरनाको अवलोकन गर्न आउनेगरेको बताउनुभयो ।