• ५ जेठ २०८१, शनिबार

सरकार शिक्षक महासङ्घसँग भएको सम्झौताप्रति प्रतिबद्ध छ : कार्यवाहक प्रधानमन्त्री खड्का

blog

बिपी स्मृति भवनस्थित केन्द्रीय कार्यालयमा जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्नुहुँदै कार्यवाहक प्रधानमन्त्री एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का ।

काठमाडौं, असोज ८ गते । कार्यवाहक प्रधानमन्त्री एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार शिक्षक महासङ्घसँग भएको सम्झौताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । बिपी स्मृति भवनस्थित केन्द्रीय कार्यालयमा जारी कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभयो ।

कांग्रेस उपसभापतिसमेत रहनुभएका खड्काले विभिन्न प्रकृतिको शिक्षकको माग रहेको भन्नुुहुँदै यदि नमिलेका विषय भए यसको ज्ञापनपत्र बुझाउँदा वातावरण सकारात्मक बन्ने भनाइ राख्नुभयो ।

उहाँले भन्नुभयो, “विभिन्न प्रकृतिको ११, १२, १६, १७ थरीको सबैको साझा सङ्गठन शिक्षक महासङ्घ हो । धेरै हदसम्म कुरा अगाडि बढाइयो । केही कुरा मिलेन भन्नुभयो, नमिलेको कुरा यी छन् भनेर ज्ञापनपत्र दिएको भए यो अवस्थ आउँदैन थियो ।” सरकार सबैको अभिभावक रहेको उहाँले बताउनुभयो ।

शिक्षा विधेयक संसद्को प्रक्रियामा गएको भन्नुहुँदै उहाँले संविधानसँग नमिल्ने र अर्थतन्त्रले धान्न नसक्ने बाहेक सबै माग पुरा हुने बताउनुभयो ।

“संविधानमा नमिल्ने र अर्थतन्त्रले धान्न नसक्नेबाहेक सबै कुरा माग पुरा गर्न, संघभित्रकै साथहरुले बढ्ता टिप्पणी गर्नुभयो”, उहाँले भन्नुभयो, “संसद्को प्रक्रियामा जाँदा सरकारको तर्फबाट, आ–आफ्नो दलभित्र त्यही आधारमा समावेश गरेर यो कुरा सम्बोधन गर्ने अवस्था बन्छ । सहमति गर्ने कुरा जे सम्झौता गरेका छन् त्यसमा सरकार प्रतिबद्ध छ ।”

उहाँले संसद्को मर्यादा, प्रक्रिया कायम राखेर शिक्षक आन्दोलनको मिल्नसक्ने सबै कुराको सम्बोधन हुने बताउनुभयो ।