शान्ता अधिकारी
चितवन, असोज ८ गते । एकसिंगे गैैंडा मारेर खाग चोरी गरेकोे मुद्दामा २५ वर्ष अगाडि अदालतले दोषी ठहर गरेपछि फरार रहेका तीन जना अभियुक्तलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । पक्राउ पर्नेमा गोगन बानिया क्षेत्री, यामबहादुर बानिया र हरि कार्की छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार २०५७ माघ २५ गते निकुञ्ज कार्यालयले विष्णु कार्की, काले बानिया भनिने गोगनबहादुर र यामबहादुरलाई जनही १० वर्ष कैद र एक लाख रुपिंयाँ जरिवाना र हरि कार्कीलाई सात वर्ष कैद र ५० हजार रुपियाँ जरिवानाको फैसला गरेको थियो ।
२०५५ कात्तिक २८ गते निकुञ्जको अमृते पोष्टदेखि करिब १.५ किलोमिटर पूर्वतर्फको पन्ना खोला नजिकै गैंडालाई खाल्डोमा पारी मारेर उक्त गैंडाको खाग चोरी लगेको अवस्थामा निकुञ्ज कर्मचारीले फेला परेका थिए । उक्त गैंडा मारेको अभियोगमा १७ जना संलग्न रहेको निकुञ्जको ठहर गरेको थियो । तीमध्ये बानियाँद्वय र कार्की फरार थिए ।
२५ वर्षदेखि विभिन्न स्थानमा लुकिछिपी बस्नेगरेको सूचनाको आधारमा निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको खड्ग दल गण, जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिप्रका काभ्रेपलान्चोकको सहयोगमा उनीहरुलाई असोज ६ र ७ गते विभिन्न स्थानबाट पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । पक्राउ परेकोलाई भरतपुर कारागार चलान गरिएको छ ।