• १९ पुस २०८१, शुक्रबार

भिमानमा बन्यो सुविधासम्पन्न बसपार्क

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, असोज ८ गते । बिपी राजमार्ग र मदन भण्डारी राजमार्गको सङ्गमस्थल सिन्धुलीको भिमानमा सुविधासम्पन्न बसपार्क निर्माण सम्पन्न भएको छ ।

बागमती प्रदेश सरकारको लगानीमा कमलामाई नगरपालिका–९, भिमानमा बसपार्क निर्माण भएपछि अव्यवस्थित पार्किङ समस्या हटेको स्थानीयले बताएका छन् । सहरीकरणको विकास हुँदै गरेको भिमान बसपार्क निर्माणले चहलपहल बढेको स्थानीय शिक्षक कृष्णप्रसाद निरौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार भिमान हुँदै निर्माण भएको बिपी राजमार्ग र मदन भण्डारी राजमार्गमा यातायातको चापसँगै अव्यवस्थित पार्किङका कारण दुर्घटनाको जोखिम बढ्दो थियो । अहिले उक्त बसपार्क निर्माणसँगै त्यस क्षेत्रमा हुने दुर्घटनाको जोखिम हटेको छ । 

आर्थिक वर्ष २०७७/७८ सालको फागुन महिनामा आत्रेय श्रीकृष्ण जेभीले ठेक्का सम्झौता गरी निर्माण सुरु गरिएको उक्त बसपार्कमा प्रतीक्षालय, खानेपानी, टिकट काउन्टर, ग्यारेज, फूलबारी, कार्यालय, कर्मचारीका लागि आवास, अशक्तका लागि आराम कक्ष, ग्यारेज, सर्भिस गर्ने ठाउँ, सौर्य बत्ती, महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय, विश्वकर्मा बाबाको मन्दिरसहितको सुविधा रहेको भवन कार्यालयले जनाएको छ । कार्यालय प्रमुख दुर्गाप्रसाद घिमिरेले बसपार्कको निर्माण लागत चार करोड ३६ लाख ४१ हजार ४१६ रुपियाँ रहेको जानकारी दिनुभयो । उक्त बसपार्कमा साना ठुला एक सय सवारीसाधन पार्किङ गर्ने सुविधा रहेको उहाँले बताउनुभयो ।