• २१ वैशाख २०८१, शुक्रबार

सामाजिक सद्भाव कायम राख्न अपिल

blog

नवलपरासी समाचारदाता

कावासोती, असोज ८ गते । नवलपरासीपूर्वमा विभिन्न जातजातिका नाममा साम्प्रदायिक झैझगडाका कारण विभिन्न घटना हुन नदिन यहाँका राजनीतिक दल र धार्मिक सङ्घ सङ्गठनले अपिल गरेका छन्।  पछिल्लो समय धरानमा धर्म र जातका नाममा भएको घटना अन्य जिल्लामासमेत फैलन सक्ने भन्दै हल्लाका पछि नलागि सामाजिक सद्भाव कायम राख्न आग्रह गरिएको हो। साम्प्रदायिक घटनाले समाजलाई फाइदा नहुने बताइएको छ। 

यस जिल्लाका सबै राजनीतिक दल र धार्मिक सङ्गठनले आपसमा मेलमिलाप गरी बस्नुपर्नेमा जोड दिएका छन्। आपसमा मिलेर बसेको समाजलाई बिथोलिन नदिन एकजुट भएर अघि बढ्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो।  प्रशासन कार्यालयको अगुवाइमा राजनीतिक दल र धार्मिक सङ्घ सङ्गठनका प्रतिनिधिले कुनै पनि हिंसाबाट समाजको प्रगति र विकास हुन नसक्ने र सबैले राज्यको कानुन र संविधानको परिधिभित्र रहेर सामाजिक सद्भाव कायम राख्नुपर्नेमा जोड दिएका छन्। 

साम्प्रदायिक विद्वेष फैलाउने तत्वको पहिचान गरी त्यस्ता अवाञ्छित गतिविधि भएको पाइएमा सबै मिलेर निस्तेज पार्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो। 

सदियौँदेखि मिलेर बनेको नेपाली समाजमा केही अवसरवादीका नाममा हुने घुसपैठले मुस्लिम, क्रिस्चियन, हिन्दु, बुद्धिस्टलगायत धर्म मान्नेलाई बदनाम गराउने काम गरेको आरोप लगाउँदै मुस्लिम सङ्घका अध्यक्ष जलाउद्दीन खाँले समाजमा हिंसा भड्काउन नदिन एकजुट भएर लाग्नुपर्ने बताउनुभयो। 

नवलपरासीपूर्वमा हिन्दु धर्म मान्नेहरू धेरै रहे पनि हिन्दुका नाममा कुनै पनि अप्रिय घटना हुन नदिन विश्व हिन्दु महासङ्घ सहदेव चनाखो रहेको जिल्ला अध्यक्ष थानेश्वर ज्ञवालीले बताउनुभयो। इसाई समाजका अध्यक्ष नवराज पाण्डेले संविधान र कानुुनको खिलाफमा कोही पनि जानु नहुने बताउनुभयो। 

त्यस्तै नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत विभिन्न राजनीतिक दलहरूले साम्प्रदायिक हिंसा फैलन नदिन सबैले सचेत र जागरूक हुन आह्वान गरिएको छ।