• ८ पुस २०८१, सोमबार

१९औँ एसियाड : टेनिसमा प्रदीपको विजयी सुरुवात

blog

टेनिस खेलाडी प्रदीप खड्का प्रतिस्पर्धा गर्दै ।

हाङझाउ, असोज ७ गते । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड)को दोस्रो दिन आइतबार नेपालले भाग लिएका अधिकांश खेलमा कमजोर प्रदर्शन गरेको छ । 

नेपालले भाग लिएका प्राय खेलमा अन्तिम आठबाट अगाडि बढ्न सकेका छैनन् । आइतबार नेपालका टेनिस खेलाडी प्रदीप खड्काले पुरुष सिंगल्समा आइतबार विजयी सुरुवात गर्नुभएको छ । 

हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर टेनिसमा प्रदीपले लिस्टे टिमोरका मेन्डेस एन्टेनियोलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरे । जितसँगै प्रदीप अन्तिम ३२ मा प्रवेश गर्नुभएको छ । अर्को चरणमा प्रदीपले सोमबार जापानका खेलाडीसँग प्रतिस्पर्धा गर्नुहुनेछ । 

आइबार नै नेपाली खेलाडीले दुई महिला सिंगल्स तथा एक पुरुष डबल्स स्पर्धामा प्रतिस्पर्धा गरेका  थिए । तीनै खेलमा नेपाली खेलाडीले हार खेप्न बाध्य भयो । 

महिला सिंगल्समा अभिलाषा विष्ट र माहिका राणाले पहिलो चरणमा वाइ पाउनुभएको थियो । 

दोस्रो चरणमा अभिलाषा थाइल्यान्डकी खेलाडीसँग ६–०, ६–० को सोझो सेटमा पछि पर्नुभयो । माहिका दक्षिण कोरियाली खेलाडीसँग ६–०, ६–१ ले पराजित हुनुभयो । 

यस्तै पुरुष डबल्समा प्रदीप र अभिषेक बाँस्तोलाको जोडी भारतीय जोडीसँग ६–२, ६–३ ले हार खेप्नुभयो । 

सोमबार प्रदीपसँगै अभिषेकले पुरुष सिंगल्स तथा अभिलाषा र माहिकाले महिला डबल्समा प्रतिस्पर्धा गर्नुहुनेछ । अर्को खेलमा अभिलाषा र अभिषेक तथा प्रणव खनाल र सुनिरा थापाको जोडीले मिक्स डबल्समा चुनौती पेस गर्नुहुनेछ । 

बक्सिङमा सङ्गीता र दीपक पराजित

बक्सिङमा नेपाली मुक्केबाज सङ्गीता सुनार र दीपक श्रेष्ठले हार खेप्नुभएको छ । सङ्गीता भियतनामकी खेलाडी लिन्हसँग अङ्कको आधारमा पराजित हुनुभयो । 

आइतबार दिउँसो हाङझाउजिम्नेजियममा भएको महिला ६० केजी तौल समूहअन्तर्गत राउन्ड अफ ३२ को भिडन्तमा सुनार भियतनामकी हा थी लिन्हले ५–० अङ्कले पराजित हुनुभयो । 

यसैगरी पुरुषको ८० केजी तौल समूहमा पनि नेपालका दीपक श्रेष्ठ उज्बेकिस्तानका टुराबेक खबिबुल्लएइभसँग ५–० अङ्ककै आधारमा पराजित भए । राउन्ड अफ ३२ को भिडन्तमा दीपकलाई टुराबेकले युनानिमोस डिसिजन को आधारमा पराजित गर्नुभएको हो । यस्तै महिला केजीमा मिनु गुरुङ जापानकी रिन्का किनोसितासँग ५–० अङ्कले पराजित हुनुभयो । 

रग्बीमा नेपालको फराकिलो हार

१९औँ एसियाली खेलकुदको पुरुष रग्बी सभेन्समा नेपालले फराकिलो हार खेपेको छ । हाङझाउ नर्मन युनिभरसिटी चाङ्गकियान एथलेटिक्स फिल्डमा आइतबार भएको समूह  ‘डी’ को पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ५५–७ ले पराजित भयो ।

दोस्रो खेलमा नेपाल आयोजक चीनसँग ६५–० ले पराजित भयो । यस्तै अर्को खेलमा नेपाल अफगानिस्तानसँग ४१–० ले पराजित भयो । एसियाड रग्बीमा नेपालले पहिलो पटक भाग लिएको हो ।

सुटिङमा नेपालको कमजोर प्रदर्शन

नेपालले एसियाड सुटिङको पहिलो खेलमा खराब प्रदर्शन गरेको छ । सुटिङको १० मिटर महिला एयर राइपलमा श्लेसा भण्डारी र सुस्मिता नेपाल ४७औँ र ५८औँ स्थानमा रहनुभयो । सुटिङको यस स्पर्धामा ५९ खेलाडी सहभागी थिए । 

यसैगरी नेपालले आइतबार बिहान सहभागिता जनाएको इस्पोर्ट्स अन्तर्गत ईफुटबलमा मकाउसँग हार खेपेको छ । नेपालका समीर गुरुङ मकाउका खेलाडीसँग २–१ ले पराजित हुनुभयो । आइतबार नै भएको इस्पोर्ट्सकै एरेना अफ भेलोरमा नेपाल थाइल्यान्डसँग २–० ले पराजित भएको छ । 

तेक्वान्दो र जुडोमा निराशा

नेपालकी तेक्वान्दो खेलाडी स्वस्तिका तामाङ महिला पुम्सेको अन्तिम १६ को खेलमा सिंगापुरकी खेलाडीसँग पराजित हुनुभएको छ । पुरुषतर्फ प्रेमबहादुर लिम्बू फिलिपिन्सका खेलाडीसँग क्वार्टरफाइनलमा पराजित हुनुभयो । 

उहाँले प्रिक्वार्टरफाइनलमा पाकिस्तानका खेलाडीलाई हराउनुभएको थियो । यस्तै जुडोमा नेपालकी खेलाडी देवकी श्रेष्ठ मङ्गोलियाकी खेलाडी र इन्द्र श्रेष्ठ हङकङका खेलाडीसँग पराजित हुनुभएको छ । 

पौडीमा एकलेक्स हिटमै अन्तिम 

पौडीमा आइतबार नेपालका एलेक्स शाह आफ्नो हिटमा अन्तिम हुनुभएको छ । पुरुष १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नुभएका एलेक्स हिट ३ मा आठौँ (अन्तिम) स्थानमा रहनुभएको हो । उहाँले निर्धारित दूरी ५४.१४ सेकेण्डमा पूरा गर्नुभएको थियो । 

ह्यान्डबलमा नेपाल चीनको सिकार 

महिला ह्यान्डबलमा नेपाल प्रारम्भिक चरणमै चीनको सिकार भएको छ ।समूह बी अन्तर्गतको प्रारम्भिक चरणमा नेपाल आयोजक चीनसँग ५७–१० को फराकिलो अन्तरले पराजित भयो । जेजियाङ युनिभर्सिटी जिओसान जिम्न्यासियममा भएको खेलमा नेपालले चीनसँग खेलभर दबाब झेलेको थियो ।