• २२ मंसिर २०८०, शुक्रबार

सुन तस्करीमा दलका नेतामाथि गहिरो अनुसन्धान भएन : सभापति लामिछाने

blog

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने । फाइल तस्बिर

काठमाडौं, असोज ७ गते। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेतामाथि गहिरो अनुसन्धान नभएको बताउनुभएको छ। आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरूमाथि गहिरो अनुसन्धान नभएको बताउनुभएको हो। 

उहाँले अनुसन्धान हेर्दा भद्दा मजाक जस्तो देखिएको बताउनुभयो। उहाँले सरकारले गर्ने अनुसन्धान ‘बम’ होला भन्ने अपेक्षा आफूहरूले गरेको भएपनि सलाईको काँटीजति पनि नपड्किएको भन्दै टिप्पणी गर्नुभयो। उहाँले शङ्काको घेरामा रहेका व्यक्ति मोबाइल फम्र्याट गरेर प्रहरीकोमा पुगेको भन्दै उहाँले प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको आशङ्का व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो , ‘‘जुन आशा र अपेक्षाका साथ अनुसन्धान सुरु भयो। त्यो अनुसन्धानका कुराहरू हेर्दाखेरी भद्दा मजाक जस्तो भएर गयो।  सत्तारुढ दलका नेताको नाम आउने बित्तिकै जुन ढङ्गले त्यो अनुसन्धान त बम होला भन्ने सोचेको थिएँ, त्यो पटका पनि भएन। सलाईको काँटी जति पनि पड्किएन। किनभने जतिपनि नामहरू आए उनीहरूले आफूले प्रयोग गर्ने फोन दिएनन् अर्को फोन दिए भन्नेकुरा सार्वजनिक भएको छ। प्रहरी केही गर्न चाहान्छ, राजनीतिक हस्तक्षेप भयो।’’ 

सभापति लामिछानेले सुन तस्करी प्रकरणका केही शङ्कास्पद व्यक्तिलाई अनुसन्धानले सुनपानी छर्किने काम गरेको बताउनुभयो। उहाँले अनुसन्धान अपुरो भएको भन्दै अपुरो अनुसन्धान हुँदा अदालतले गर्ने न्याय निरूपण पनि आलोचित हुनसक्ने बताउनुभयो।