• १४ मंसिर २०८१, शुक्रबार

रकम फिर्ताको माग गर्दै बचतकर्ता आन्दोलित

blog

अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरु आईतबार सुनसरीको इनरुवास्थित कोशी प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालय घेराउ गर्दै ।

जयकृष्ण यादव 

इनरुवा, असोज ७ गते । आफूले बचत गरेको रकम फिर्ता गर्न माग गर्दै सुनसरीको इटहरीमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरू आन्दोलित भएका छन् । सयौँको सङ्ख्यामा बचतकर्ताहरूले बचत गरेको रकम फिर्ता दिन सहकारीद्वारा आनाकानी गरेको भन्दै सहकारी विरुद्ध आन्दोलन थालेका छन् । 

बचतकर्ताहरू आन्दोलित हुँदै आइतबार जिल्ला सदरमुकाम इनरुवास्थित प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालय घेराउ गरेका छन् । सहकारी पीडितहरूले अम्बे कोशी बचत पीडित संर्घष समिति बनाएर सहकारीबाट आफूहरूले जम्मा गरेको बचत रकम फिर्ता पाउनु पर्ने, सहकारीको लुटधन्दा बन्द गर्नुपर्ने माग सहित प्रशिक्षण कार्यालय घेराउ गरेका हुन् । 

बचतकर्ताको रकम फिर्ता गर्न, सञ्चालक समितिको तीन पुस्ते सम्पत्ति रोक्का गर्न, लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न, सञ्चालक समिति मुर्दावाद लेखिएको प्लेकार्ड सहित बचतकर्ताहरू आन्दोलित भएका स्थानीय नविनचन्द्र अधिकारीले बताउनुभयो । 

संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसकेको भन्दै आइतबार सहकारी पीडित संर्घष समितिले कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन् । सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा पाँच हजार बढी सेवाग्राहीहरू मर्कामा परेका छन् । बचतकर्ताको रकम फिर्ता दिनुपर्ने उल्टै बजारमा दैनिक र साप्ताहिक बचत सङ्कलन गर्ने गरेको भन्दै उनीहरूले सहकारीलाई कारबाही गर्न समेत माग गरेका छन् ।

‘हाम्रो बचतको ग्यारेन्टी गर, बचतकर्ताको रकम तुरुन्त फिर्ता गर’ लगायतका माग राख्दै बचतकर्ता आन्दोलनमा उत्रिएको र वार्ताका लागि पहल भइरहेको प्रशिक्षण कार्यालयका शिव नेपालले जानकारी दिनुभयो । सहकारी पीडित संर्घष समितिका सदस्यहरूका अनुसार बचतकर्ताको ४० करोड बढी रुपियाँ खाएर सञ्चालक समिति भागाभागी हिँडेका छन्। बचतकर्ताको सो रकम फिर्ता नहुँदा आफूहरूको आन्दोलन जारी रहने दाबी गरेका छन् ।

सहकारीका कोशी प्रदेश कार्यालयले एकै पटक बचतकर्ता पैसा फिर्ता माग्न कार्यालय घेर्न थालेपछि समस्या उत्पन्न भएको जनाएको छ ।