• ११ पुस २०८१, बिहिबार

नरैनापुरलाई सुगम बनाउन सफल भएका छौँ

blog

बाँके जिल्लाकै पिछडिएको पालिकामध्येको एक नरैनापुर गाउँपालिकाले सानो समयमै विकास निर्माणमा फड्को मारेको छ । पछिल्लो समय नेपालगन्ज–बघौडा हुलाकी सडकको निर्माण र विद्युतीकरणको काम पूरा भएपछि नरैनापुरको मुहार नै परिवर्तन भएको छ । विकास निर्माणमा उल्लेखनीय कम गरेकाले इस्तियाक अहमद शाहलाई जनताले दोस्रो कार्यकालका लागि गाउँपालिकाको अध्यक्षमा निर्वाचित गरेका हुन् । दोस्रो पटक निर्वाचित भएपछि उहाँ झनै सक्रिय भएर पालिकाको विकासमा खटिनुभएको छ । अझै धेरै विकास निर्माणका काम गर्न बाँकी रहेकाले छिट्टै नरैनापुरलाई नमुना पालिका बनाउने अठोटका साथ अगाडि बढिरहेको अध्यक्ष शाह बताउनुहुन्छ । पालिकामा पछिल्लो समय के काम भइरहेका छन् लगायतका विषयमा पालिकाका अध्यक्ष शाहसँग नेपालगन्ज समाचारदाता सिराज खानले गर्नुभएको कुराकानी : 

 

कार्यकालको एक वर्षलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ? 

देशभरका ७५३ वटा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनका आधारमा नरैनापुर गाउँपालिका उत्कृष्ट भएको छ । मेरो दोस्रो कार्यकालको एक वर्षमा नै नरैनापुर गाउँपालिकालाई प्राकृतिक स्रोत तथा वित्त आयोगले उत्कृष्ट घोषणा गरेकाले जनचाहना अनुसार नै राम्रो काम गरिरहेको छु भन्ने लागेको छ । बाँकी कामको मूल्याङ्कनको जिम्मा स्थानीय जनताको हो । पालिकासँग उपलब्ध स्रोत साधनको सदुपयोग गर्दै योजना सम्पन्न गर्ने प्रयास गरिएको छ । पालिकाका नागरिकको स्वास्थ्य समस्यालाई ध्यानमा राखेर विशेषज्ञ क्लिनिक सेवा सुरु गरिएको छ । पैसाको अभावमा रोग पालेर बस्नुपर्नेको निःशुल्क औषधी उपचार भइरहेको छ । 

शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर काम थालिएको छ। सामुदायिक पशु व्यवस्थापनका लागि गौशाला व्यवस्थित गर्ने, सार्वजनिक जग्गा अतिक्रमण हटाउन अभियान सुरु गरिएको छ । मुख्य सडक चौडा पार्नेजस्ता महत्वपूर्ण कामको थालनी पहिलो वर्षको उपलब्धिका रूपमा लिएको छु । नरैनापुर गाउँपालिका सदरमुकामसँग जोडिएको थिएन । नरैनापुरका जनता भारतको बाटो प्रयोग गरेर नेपालगन्ज जानुपर्ने बाध्यता थियो भने बिजुली, सञ्चार, शिक्षा, स्वास्थ्यलगायत अत्यावश्यक माध्यमको पहुँचबाट टाढा रहेका थिए । म निर्वाचित भएपछि मेरो पहिलो एजेन्डा नै सदरमुकामसँग नरैनापुरलाई जोड्ने थियो । जुन काम पहिलो पाँच वर्षको कार्यकालमा पूरा गरेर जनतासँग स्थानीय सरकार भएको अनुभूति दिलाउन सफल भएको छु । आफ्नै प्रशासनिक भवन अहिलेसम्म तयार हुन सकेको छैन । 


जिल्लाकै सबैभन्दा पिछडिएको गाउँपालिकाका चुनौती के के हुन् ?  

स्थानीय क्षेत्रको विकास तथा ठुला ठुला पूर्वाधार निर्माणमा सीमित साधन स्रोत खर्चिनुपर्ने बाध्यता एकातिर छँदै छ भने अर्कोतर्फ साधन स्रोत अपुग हुने गरेको छ । स्थानीय सरकारले जनताको माग, आवश्यकता र चुनावी घोषणापत्रमा प्रतिबद्धता गरे अनुरूप का गर्न गाह्रो हुन्छ । साधनस्रोतको अभावले जनताको अपेक्षा र आफूले प्रतिबद्धता गरे अनुसार कार्यसम्पादन गर्न स्थानीय सरकारलाई सबैभन्दा ठूलो चुनौती भएको छ । विधि, प्रक्रिया र पद्धतिमा सञ्चालन गर्न र सीमित साधनस्रोतको मितव्ययी रूपमा सदुपयोग गर्न पनि स्थानीय सरकारलाई चुनौती छ । प्रशासनिक व्यवस्थापन तथा कर्मचारीलाई तलब भत्ता दिन पनि आन्तरिक साधन स्रोतले पुग्ने अवस्था छैन । 


चुनौतीलाई समाधान गर्ने योजना बनाउनुभएको छ होला नि ? 

नेपालको संविधान २०७२ ले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनै तहको एकल अधिकार र साझा अधिकारको कार्यदिशा स्पष्ट गरेको छ । सोही अनुसार जनताको नजिकको सरकार स्थानीय सरकारलाई अधिकारसम्पन्न तथा सशक्त बनाउने क्रममा स्थानीय सरकारले चुनौतीका बिच धेरै अवसर प्राप्त गरेको छ । सो अवसरलाई अधिकतम उपयोग गरी चुनौतीको समाधान गर्ने प्रयत्न गरिरहेको छु । स्थानीय तहको विकास निर्माण तथा प्रशासनिक कार्यमा हुन सक्ने ढिलासुस्ती, अनियमितता तथा भ्रष्टाचारको अन्त्य गरी स्थानीय सेवा प्रवाहलाई छिटो छरितो मितव्ययी, प्रभावकारी र गुणस्तरीय बनाउने गरी काम गरेको छु । 


कृषि, शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा सुधार भएको हो ? 

हामीले कृषि, शिक्षा, स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । शैक्षिक सुधारका लागि पालिकाभित्रका विद्यालयमा विद्यार्थी सङ्ख्यालाई आधार मानी आवश्यक दरबन्दीको व्यवस्था, विद्यालय मर्ज गर्ने र आवश्यक ठाउँमा भौतिक निर्माणमा समेत सहयोग गर्दै आएको छु । त्यसै गरी, स्वास्थ्य क्षेत्र सुधारका लागि बर्थिङ सेन्टरको व्यवस्थापन तथा आवश्यक औषधीको व्यवस्था गरेको छु । 


योजना र कार्यक्रम बनाउँदा कसरी काम गर्नुहुन्छ ? 

योजनाबद्ध विकास पद्धतिलाई निर्देशित गर्ने दस्तावेज, तथ्याङ्क र सूचनामा आधारित हुनुपर्छ । वर्तमान अवस्थाको यथार्थ विश्लेषण, स्रोत साधनको वास्तविक आकलन, संस्थागत क्षमताको वास्तविक मूल्याङ्कन जस्ता विषयमा ध्यान दिइनु पर्छ । दीर्घकालीन सोच, रणनीति, आवधिक योजना र बजेटबिच अन्तर आबद्धता कायम गरी वार्षिक नीति, कार्यक्रम र बजेटलाई आवधिक योजनाको कार्यान्वयन औजारका रूपमा लिइनुपर्छ । 

नेपालको आर्थिक समुन्नतिका वास्तविक क्षेत्र पहिचान गरी लगानी सोहीतर्फ केन्द्रित गरिनुपर्छ । नेपालको आर्थिक विकासको वास्तविक क्षेत्र कृषि, वन, जलस्रोत र पर्यटन भएकाले यी क्षेत्र लगानी केन्द्रित गरिनु पर्छ । प्रत्येक कार्यको मूल्याङ्कन सूचक निर्माण गरी जनप्रतिनिधि एवं प्रशासकको कार्यसम्पादन मूल्याङ्कन पद्धतिको विकास गरिनु पर्छ । 


जनतासँग गरिएका प्रतिबद्धता पूरा भएका छन् जस्तो लाग्छ ?  

जनतासँग मैले गरेका धेरै प्रतिबद्धता पूरा भएजस्तो लाग्छ । म जनता समाजवादी पार्टीको चुनाव चिह्न लिएर निर्वाचनमा होमिएको थिएँ तर निर्वाचित भई सकेपछि पार्टीभन्दा पनि जनतामुखी भएर सेवा गर्दै आएको छु । जनताको चाहना पूरा गर्न कुनै कसर बाँकी नराख्ने गरी अगाडि बढेको छु । मेरो काम देखेर जनताले मप्रति ठुलो भरोसा र विश्वास जनाएका छन् । पालिकाको मुहार परिवर्तन गर्ने अभियानमा जनताको साथ पाएको छु । जनताले पनि मेरो कामबाट सन्तुष्टि जनाएकाले प्रतिबद्धता पूरा गरेको जस्तो लाग्छ ।   


प्रदेश र सङ्घीय सरकारसँग समन्वय र सहकार्य भइरहेको  छ ?  

प्रदेश र सङ्घीय सरकारसँगको सहकार्य र जनताको सहयोगले नै नरैनापुर देशको उत्कृष्ट पालिका बन्न पुगेको छ । तर, सङ्घीय सरकारबाट आउने बजेट निकै ढिला पुग्ने भएकाले काममा समस्या हुने गरेको छ ।