• २३ मंसिर २०८०, शनिबार

तातोपानी नाकामा बढ्यो चहलपहल

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, असोज ७ गते । उत्तरी छिमेकी चीन स्वशासित क्षेत्र तिब्बतको खासा भएर तातोपानी भन्सारमा आयात हुने सामानको परिमाण दोब्बरले वृद्धि भएको छ । भदौ १५ गतेदेखि मानव आवतजावत खुला भएपछि आयातमा वृद्धि भएको हो ।  

साउनसम्म दैनिक तीनदेखि पाँच कन्टेनर सामान आयात हुन्थ्यो तर भदौ १५ गतेयता दैनिक २० गाडी सामान आयात भएको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले जानकारी दिनुभयो । दसैँ नजिकिँदै गर्दा नाकामा चहलपहल बढेको छ ।

दसैँलगायत चाडपर्वलाई लक्षित गरेर नेपाली व्यापारीले ल्याएको सामान धमाधम तातोपानी नाकाबाट आइरहेको छ । चीनको ग्वान्झाओ, इयु, छेन्दुलगायत सहरबाट सामान क्यारिङ गरेर तातोपानी भन्सारसम्म ल्याउने प्रबन्ध गरेको तिब्बत क्षेत्रमा क्रियाशील आडो ट्रान्सपोर्टले सहुलियत दरमा सामान ढुवानी गर्न थालेपछि नेपाली व्यापारी खुसी भएका छन् ।  

खासा–काठमाडौँ सबैभन्दा कम दुरीको नाका हो । चिनियाँ सहरबाट १०–१२ दिनमा सामान तातोपानी सुक्खा बन्दरगाह लार्चामा आइपुग्ने भएकाले व्यापारीलाई धेरै फाइदा हुने बताइन्छ । तातोपानी नाका पूर्ण रूपमा खुलेसँगै त्यस क्षेत्रमा काम गर्दै आएका ट्रान्सपोर्ट कम्पनीहरू सक्रिय हुन थालेका छन् । भूकम्पले विस्थापित खासाली घर नफर्किएकाले निर्यात भने लगभग शून्य नै छ । नेपालबाट निर्यात हुने सामान खासापट्टि बुझ्ने मानिस नभएकाले नेपाली व्यापारीले हस्तकला, खाद्यान्न र जडीबुटीजन्य सामान तातोपानीबाट चीनतर्फ निर्यात गर्न पाएका छैनन् । 

मानिस आवतजावत सुरु भएसँगै चिनियाँ क्षेत्रमा गएर सीमावासीले सामान ल्याउन पाएका छन् । नाकामा होटल, रेस्टुरेन्ट र पसल खुल्न थालेका छन् । दैनिक ५० जना चिनियाँ नेपाल आउन थालेका छन् भने करिब पाँच सयको सङ्ख्यामा नेपाली पारि पुगेर सामान खरिद गरिरहेका छन् । नाका खुलेपछि सिन्धुपाल्चोकवासी खुसी भएका छन् ।