• ४ जेठ २०८१, शुक्रबार

तीन सयभन्दा बढीले गरे कैलाशको दूरदर्शन

blog

नेपाली भुमि लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्दै पर्यटकहरु । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, असोज ६ गते । नाम्खा गाउँपालिका–६ हिमालपारिको गाउँ लिमीको लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दूरदर्शन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या तीन सयभन्दा बढी पुगेको छ । 

मौसममा सुधार भएसँगै पाँच हजार मिटर अग्लो स्थान लाप्चाबाट मानसरोवर कैलाश स्पष्ट देखिने भएका कारण पर्यटकको सङ्ख्या बढ्दैगएको छ । लिमीका स्थानीय कुन्चोक लामाले आन्तरिक र बाह्य एक सय जना पर्यटकले एकै दिनमा लाप्चाबाट मानसरोवर कैलाश दर्शन गरेको बताउनुभयो ।

उहाँले मौसम सफा भएका कारण स्पष्ट रूपमा मानसरोवर कैलाश देखिने भएका कारण एक महिना यता पर्यटकको सङ्ख्या वृद्धि भइरहेको बताउनुभयो । सिजन सुरु भएका कारण पर्यटक भित्रिने सङ्ख्या वृद्धि हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले हालसम्म ३३५ जना आन्तरिक तथा बाह्य पर्यटकहरूले लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्न सफल भएको बताउनुभयो । 

उहाँका अनुसार दूरदर्शन गर्ने पर्यटकमा एक जना बाह्य र २३५ आन्तरिक पर्यटक रहनुभएको छ । केही दिनअघि भारतीय जग्गी वासुदेव (सद्गुरु) सहितको ७० जना बाह्य पर्यटकले दूरदर्शन गर्नुभएको थियो । उहाँको समूहका लागि दुई वटा बस, १७ वटा बोलेरो जिप र दुई वटा ट्याक्टर प्रयोग गरिएको थियो । 

सिमकोटदेखि लाप्चासम्म सडक सञ्जाल जोडिएको कारण सबै पर्यटक पैदल मार्गबाट जानुभएको छ । लाप्चाबाट पर्यटकले मानसरोवर कैलाशको दर्शन गर्ने गरेपछि सिमकोटका होटेल, यातायात व्यवसायी, लिमीको तुम्लिङका होटेल व्यवसायीहरू लाभान्वित हुनुभएको छ ।  हिमपात नभए आगामी कात्तिक महिनासम्म पर्यटकहरू लाप्चाबाट दूरदर्शन गर्न सक्नु हुनेछ । गत वर्ष लाप्चाबाट एक हजार पाँचसय पर्यटकले मानसरोवर कैलाशको दर्शन गर्नुभएको थियो ।