• १२ असार २०८१, बुधबार

फेवातालमा क्रुज डिनर चलाऔँ : मन्त्री किराती

blog

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी
लेखनाथ, असोज ६ गते ।
 संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपालको पर्यटन विकासका लागि संस्कृति र प्रकृतिको संयोजन गर्नुहुँदै नयाँ कदम चाल्नुपर्ने बताउनुभएको छ । उहाँले नेपालको समाज इन्द्रेणी जस्तो रहेकोमा अहिले फिका फिका देखिन थालेको टिप्पणी गर्नुभयो ।

मन्त्री किरातीले फेवातालमा क्रुज डिनर चलाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री किरातीले भन्नुभयो, “यो आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्छ । विदेशमा त पहिल्यै यस्तो भएकै छ ।” साँझ ७ देखि ९ बजेसम्म यस्तो पार्टी गर्न सकिने उहाँको भनाइ छ । शनिबार पोखरामा पत्रकारमाझ उहाँले भन्नुभयो, “नेपाल अथाह ज्ञान भएको भूमि हो, यसमा विज्ञान मिसाउन जरुरी छ । ज्ञान विमानस्थल हो भने विज्ञान जहाज हो । दुवै नमिली प्रगति सम्भव छैन ।”

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले शनिबार आयोजना गरेको कार्यक्रममा मन्त्री किरातीले स्वामी कमलनयनाचार्यलाई हेमदेवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कार प्रदान गर्नुभयो । पुरस्कार राशि नगद एक लाख एक हजार र सम्मानपत्र छ ।

कवि तीर्थ श्रेष्ठले स्वामी कमलनयनाचार्यले धार्मिक जागरण र विकास, निर्माणमा गरेको योगदानको सम्मान गर्दै उहाँलाई पुरस्कृत गरिएको बताउनुभयो । स्वामी कमलनयनाचार्यले तीर्थाटनका लागि भारत नै जानुपर्छ भन्ने मान्यता बदल्न धार्मिक जागरणसँगै धार्मिक, आध्यात्मिक क्षेत्रहरूको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मन्त्री किरातीले विन्ध्यवासिनीमा नमुना खालका काम देखिएको सुनाउनुभयो । यो क्षेत्रमा ठुला योग शिविर र महायज्ञ चलाएर धार्मिक, आध्यात्मिक पर्यटक आकर्षण गर्न सकिने उहाँको भनाइ छ । मन्त्री किरातीले भन्नुभयो, “यहाँ नमुना काम भएको देखिन्छ । अन्यत्र शिवस्व खाने होजबाजी चलेको छ । यहाँ नमुना काम भएको देखियो ।”

उहाँले साना तीन नयाँ जहाज किन्ने योजना सुनाउनुभयो । नेपालका २० विमानस्थल अहिले प्रयोगविहीन छन् । अहिले वायु सेवा निगमसँग रहेका तीन र नयाँ किनिएका तीन गरी छ साना विमान भए देशका सबैजसो विमानस्थल सञ्चलनमा ल्याउन सकिने उहाँको भनाइ छ ।

“ती विमानस्थल चलाएर निगमले नाफा त कमाउन सक्दैन । जनतालाई सेवा दिने दायित्व निर्वाह हुन्छ,” उहाँले भन्नुभयो । थप न्यारो बडी जहाज किनेर विदेश उडान गरी निगमलाई नाफामा लैजानुपर्नेमा उहाँको जोड छ । चीनबाट पोखरा उडानबारे प्रधानमन्त्रीको जारी चीन भ्रमणमा केही न केही परिणाम आउने अपेक्षा गर्दै उहाँले पोखरा र लुम्बिनीका विमानस्थल पिपिपि मोडलमा चलाउनेबारे पनि छलफल भइरहेको उल्लेख गर्नुभयो ।

डेढ/डेढ अर्ब जनसङ्ख्या रहेका दुई छिमेकी देशबाट नेपालले फाइदा लिनसक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पोखराको रत्न मन्दिरको भित्री भाग सर्वसाधारणका खुला गर्न यसको जीर्ण अवस्थाले कठिनाइ भएको उहाँले जनाउनुभयो । यसको मर्मतसम्भारपछि खोल्ने पक्षमा आफू रहेको उहाँले सुनाउनुभयो । पोखराको पुराना विमानस्थल अहिले पनि उपयोगमै रहेको जनाउँदै उहाँले कसैलाई यसको स्वामित्व दिइयो वा दिन लागियो भन्ने चर्चामा सत्य नभएको प्रकाश पार्नुभयो । “यसको उपयोग देशको विकासमा टेवा पुग्ने किसिमले नै हुन्छ । कसैलाई दिने, दिइसकियो भन्ने सत्य होइन ।” मन्त्री किरातीले भन्नुभयो ।