• ११ मंसिर २०८१, मङ्गलबार

कलाकारको मुख्य आयस्रोतको माध्यम स्टेज सो : लोक गायक राई

blog

लोक तथा आधुनिक गायन गायक मेनुका राई ।

काठमाडौं, असोज ६ गते । करिब दुई दशक अघि साङ्गीतिक क्षेत्रमा लाग्नुभएको मेनुका राईले डेढ सयभन्दा बढी गीत गाउनुभएको छ । बजारमा भाइरल हुने प्रतिस्पर्धा भइरहँदा गायिका राईको गीतहरू त्यस्तो धेरै नचले पनि पूर्वी पहाडतिर उहाँका गीतहरू निक्कै मन पराइरहेका छन् । लोक तथा आधुनिक गायनमा योगदान दिइरहेका राईको विशेषतः पूर्वेली लोक भाका चर्चित छन् । प्रस्तुत छ उहाँसँग गरिएको छोटो कुराकानी ।

पछिल्लो पटक गीत सङ्गीतबाट अलि टाढा जस्तो देखिनु भएको छ किन ?

त्यसो हैन म गीत सङ्गीतमै छु । केही सामाजिक कामहरूमा पनि सक्रिय छु । केही महिना अघि मात्र कुखुरे बैँस बोलको गीत सार्वजनिक भएको छ । तर पहिलेको जस्तो हिट भएन त्यति हो । अब चाँडै नयाँ गजल आउँदैछ ।

त्यो गीत खासै बजारमा सुनिएन नि ?

हैन, आजभोलि सबै गीत युवटुबमा राखेर चल्ने हो । युवटुबमा हिट बनाउन बुष्ट गर्दा धेरै पैसा खर्च हुन्छ । भिडियो बनाउँदा र रेकर्ड गर्दा नै धेरै खर्च भइसकेको हुन्छ । त्यसैले पछिल्लो गीतहरू बुष्ट गरिन त्यसले पनि केही असर पर्‍यो  ।

कलाकारितामा लागेर जीवन धान्न सकिन्छ ?

पछिल्लो पटक कलाकारहरूको आयस्रोतको मुख्य माध्यम स्टेज सो भएको छ । त्यसमा पनि विदेशको स्टेज सो प्रमुख बनेको छ ।

तपाई हालसम्म कुन–कुन देश जानुभयो ?

म पहिलो पटक खोटाङ सेवा समाजको निमन्त्रणामा बेलायत जाँदैछु । खोटाङ सेवा समाज बेलायतमा रहेका खोटाङ्केहरुको साझा सामाजिक संस्था हो । सेप्टेम्बर २३ मा यसले समस्यामा रहेका खोटाङ्गेहरुलाई सहयोग गर्नुका साथै खोटाङ्गको स्वास्थ्य, शिक्षा तथा अन्य सामाजिक कामहरूमा सहयोग गर्दै आएको छ । सेप्टेम्बर २३ मा यो संस्थाको वार्षिकोत्सव छ । भर्खरै यही संस्थाको सहयोगमा हामीले स्थापना गरेको खोटाङ कलाकार समाजले खोटाङ प्रतिभा कार्यक्रम पनि सम्पन्न गरेका थियौँ ।

खोटाङमा गायक राजेश पायल राई, सङ्गीतकार महेश खडकालगायत दर्जनौँ चर्चित कलाकारहरू उत्पादन भएका छन् । कतिपय सन्दर्भमा त्यहाँका हावापानी पनि गीत गाउँछ भन्ने गरिन्छ यसको कारण के होला ?

यसको ठ्याक्कै कारण त भन्न सकिएन । केही प्रभाव पनि होला । अधिकांश चाहिँ त्यहाँका सङ्गीतमय सामाजिक वातावरण नै हो । किनकि त्यहाँको मानिसहरू दाउरा, घाँस, मेलापात गर्दा पनि गीत गुनगुनाउने गर्छन् ।

तपाई साङ्गीतिक क्षेत्रमा प्रवेश गर्दा र अहिलेको अवस्थामा के कस्तो भिन्नता छ ?

प्रविधि, प्रतिस्पर्धा र कार्यशैलीको कारण पनि धेरै फरक छ । अहिले बजारमा प्रतिस्पर्धा ठुलो छ । पहिले देशभित्र मात्र सुन्न सकिने हाम्रो आवाज अहिले क्षणभरमा विश्वभर सुन्न सकिन्छ ।