मीना कँडेल
कावासोती, असोज ६ गते । नवलपुरको पहिरोपीडित दुई वर्षदेखि टहरामै बस्न बाध्य भएका छन्। जिल्लाको हुप्सेकोट गाउँपालिका–५, बागखोरका १८ घरधुरीका १२८ जना दुई वर्षदेखि टहरामै बस्न बाध्य भएका हुन्। २०७८ साल असार २४ गते पहिरोले विस्थापित भएका घरपरिवारको अझै स्थायी बसोबासको टुङ्गो लाग्न सकेको छैन। दीर्घकालीन रूपमा बसोबासको व्यवस्था हुन नसक्दा उनीहरू अस्थायी टहरामै कष्टपूर्ण जीवन जिउन बाध्य भइरहेका छन्।
अस्थायी टहरामा बस्दै आउनुभएकी दिलमाया सोमैले भन्नुभयो “सानो एउटा कोठाभित्र आठदेखि १०/१२ जनाको परिवार बस्नुपर्ने बाध्यताले अहिले पिरोलिरहेको छ। पहिरोपीडितको एउटै चाहना छ, कुनै एक ठाउँमा लगेर स्थायी बसोबासको व्यवस्था मिलाइदिए हुन्थ्यो।” विशेषतः सुत्केरी महिला र ज्येष्ठ नागरिकको हेरचाहमा समस्या हुने गरेको छ।
भूमिसरा सारूले वृद्ध भएका सासूससुराको स्वास्थ्य बिग्रिएको तर उपचार गर्न समस्या हुने गरेको बताउनुभयो। “बिहान बेलुकाको छाक टार्न धौ धौ भइरहेको अवस्थामा रोगीको उपचार कसरी गर्नु ?” उहाँको गुनासो छ। एकातर्फ उमेरले ८० काटिसकेका वृद्धवृद्धा अर्कोतर्फ साना बालबच्चा एकपछि अर्को समस्याको चाङ थुप्रिँदै गएको छ। विस्थापित १८ घरपरिवारको दैनिकी अहिले ज्यालामजदुरी गरेर बितेको छ। ब्लक र टिन लगाइएको एक/एक कोठा र एउटा टेन्ट उनीहरूको बास काट्ने थलो भएको छ। खेमबहादुर सोमै मगरले बिहान बेलुकाको छाक ज्यालामजदुरीकै भरमा काटे पनि छोराछोरीको आधारभूत आवश्यकता गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यमा समस्या भएको बताउनुहुन्छ।
टहराको बसाइमा जीवन धान्न निकै गाह्रो भएको ८० वर्षीय धनबहादुर सोमै बताउनुहुन्छ। भएका जग्गा जमिनमा पनि फर्केर खेती गर्न जान नसकेपछि विस्थापितलाई खाद्यान्नको अभाव भएको छ। वृद्ध उमेर भइसकेकाले कति बेला के हुन्छ थाहा नभएकाले स्थायी रूपमा आफ्नै घर बस्ने उहाँको धोको छ।
उनीहरूको आफ्नो गाउँमा प्रतिघर एकदेखि तीन बिघासम्म जमिन थियो। अहिले ती जमिन मात्र खोसिएनन् बस्ने बास पनि खोसिएको छ। अरूको जग्गामा शरण लिएर बस्नु परेको छ। हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले स्थायी व्यवस्थापनका लागि सङ्घीय र प्रदेश सरकारमा पटक पटक पहल गर्दै आएको बताउनुभयो।