• ११ मंसिर २०८१, मङ्गलबार

३२ थान मोबाइलसहित भारतीय नागरिक पक्राउ

blog

भारतीयको साथबाट बरामद मोबाइल ।

गोविन्द शर्मा

बाँके, असोज ४ गते । नेपालगञ्ज विमानस्थलबाट अवैधरुपमा राजधानी लैजान लागिएको ३२ थान मोबाइल सेटसहित चार जना भारतीय नागरिकलाई पक्राउ परेका छन् । 

नेपालगञ्ज विमानस्थलमा रहेको एक्सरे मेसिनमार्फत चेकजाँचको क्रममा करिब नौ लाख रुपियाँ मूल्य बराबरको मोबाइल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

भारतको मध्यप्रदेश राज्य इन्दौर सुदामा नगरका अमित सोलंकीको साथबाट ८ थान, पागनिसपागाका सचिन कुकरेजको साथबाट ८ थान, द्वारकापुरीका कमल बंसारीको साथबाट ८ थान र ब्लक काँलोगीका अमित सोलंकीको साथबाट ८ थान गरि जम्मा ३२ थान मोवाईल बरामद गरिएको डिएसपी डाँगीले जानकारी दिनुभयो । उनीहरु चारै जनाको विमानस्थलमा झोला एक्सरे मेसिनमार्फत चेकजाँच गर्नेक्रममा मोबाइल सेट फेला परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट वन प्लस, अप्पो, रेलमी, रेडमी, सामसुङ मोबाइलका सेट बरामद गरिएको हो । मोबाइल खोलभित्र नरहेको र खुलारुपमा रहेको प्रहरीले जनाएको छ । 

यसअघि भदौ २५ गते पनि नेपालगञ्ज विमानस्थलबाट काठमाडौं जाँदै गरेको अवस्थामा एक्सरे मेसिनमार्फत चेकजाँचको क्रममा एकजना सरकारी कर्मचारीलाई स्राेत नखुलेको २६ लाख रुपियाँसहित प्रहरीले पक्राउ गरेको थियो । 

मोबाइल सेटसहित पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाउने तयारी रहेको डाँगीले बताउनुभयो ।